• २२ जेठ २०८२, बिहिबार

बजेटको सफल कार्यान्वयन आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट समग्रमा राम्रो आएको भन्दै सरोकारवालाले यसको सफल कार्यान्वयनमा जोड दिएका छन् । नेपाल व्यवस्थापन सङ्घले सोमबार राजधानीमा आयोजना गरेको आव २०८२/८३ को बजेटपछि छलफल ‘प्रभावकारी कार्यान्वयनमार्फत बजेटको विश्वसनीयता वृद्धि’ विषयक कार्यक्रममा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटको कार्यान्वयन क्षमतामा प्रश्नचिह्न उठ्ने गरेकोतर्फ ध्यानाकर्षण गराउँदै कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको अर्थतन्त्रको धरातलमा टेकेर बजेट आएको भन्दै बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आम्दानी र खर्चको ठुलो अन्तर भएको अवस्थामा फरक तरिकाले बजेट आउन नसकेको बताउनुभयो । सिस्टमभन्दा बाहिर पैसा रहेको र यसको उपयोग गर्न नसकेर बजेट राजस्व बढाउने र खर्च घटाउनेतर्फ लागेको उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक सरकारलाई ठुलो बजेट ल्याउन दबाब हुने भन्दै त्यसका लागि स्रोत नै नजुट्ने र जुट्छ भन्ने देखाएर ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । राजनीतिक दलमा बजेटमार्फत आश्वासन बाँड्ने प्रतिस्पर्धाले गर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले अहिले बलियो सरकारबाट कमजोर बजेट आएको बताउनुभयो । अहिलेको बजेटले पुनर्संरचना मागेको भन्दै उहाँले बलियो सरकारले गर्न सक्ने कुरा पनि गर्न नसकेको र जनताका अपेक्षा समेट्न नसकेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा. रूप ज्योतिले बजेटको मुख्य स्रोत राजस्व भएको भन्दै इमान्दारीपूर्वक राजस्व उठाउनुपर्नेमा जोड दिनुभयो । अर्थविद डा. डिल्लीराज खनालले संसद्बाट पास भएको बजेटलाई अर्थ मन्त्रालयको क्याबिनमा बसेर घटाउने कार्य गलत भएको बताउनुभयो । बजेटमा घोषणा गरिएका नीतिगत कुरा कार्यान्वयन हुन्छन् भनेर आश्वस्त दिलाउन सके मात्रै बजेटको सफलता हुने बताउनुभयो । अर्थविद् डा. नरबहादुर थापाले बजेटले मौद्रिक नीतिका कुरा गर्न थाले बेथिति आउने बताउनुभयो । बजेटको मध्यावधि समीक्षा गर्न बन्द गर्नुपर्नेमा जोड दिँदै उहाँले मध्यावधि समीक्षाका नाममा सारा बजेट घटाएर जनतालाई निराश बनाउन नहुने भनाइ राख्नुभयो ।