• २१ जेठ २०८२, बुधबार

संरक्षणको पर्खाइमा बिसे नगर्ची पार्क

blog

सुलीकोट समाचारदाता

सुलीकोट, जेठ १९ गते ।  जिल्लाको गोरखा नगरपालिका–६ को पोखरीथोकमा रहेको ऐतिहासिक बिसे नगर्ची पार्क संरक्षणको पर्खाइमा रहेको छ । बाइसे चौबिसे राज्यलाई एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको नाममा रहेको बिसे नगर्ची पार्क संरक्षणको पर्खाइमा रहेको हो । 

तत्कालीन बाइसे चौबिसे राज्यलाई एउटै मालामा गाँस्दै सिङ्गो राज्य बनाउन पृथ्वीनारायण शाहका प्रमुख सल्लाहकारमध्ये बिसे नगर्ची नेपालको एकीकरण अभियानका महत्वपूर्ण पात्र रहेको इतिहासमा लेखिएको पाइन्छ ।

बिसे नगर्ची गोरखा राज्यका नगर्ची भएको र राजा पृथ्वीनारायण शाहको आर्थिक, सैन्य र सांस्कृतिक दृष्टिले महìवपूर्ण योगदान दिने व्यक्ति भएकाले पनि गोरखाको पोखरीथोकमा उहाँको सालिक र पार्क निर्माण गरिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार युद्धका बेला गोरखा राज्य नुवाकोटसंग पराजित भएपछि पृथ्वीनारायण शाहलाई युद्धका लागि आवश्यक हातहतियार जुटाउन कठिनाइ भइरहेको बेला बिसे नगर्चीले गोरखा राज्यका प्रत्येक घरधुरीबाट एक/एक रुपियाँ सङ्कलन गर्ने प्रस्ताव गरी सङ्कलित रकमबाट भारतको काशीबाट हतियार र बारुद ल्याउने व्यवस्था गरी एकीकरण अभियानलाई गति दिने काम गरेका इतिहासमा उल्लेख छ । 

बिसे नगर्चीको योगदानलाई सम्मान गर्दै गोरखा नगरपालिकाले गोरखाको पोखरीथोकमा पार्क र सालिक निर्माण गरे पनि बिसे नगर्ची पार्क संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको बिसे नगर्ची संरक्षण समितिका अध्यक्ष रमेश परियारले बताउनुभयो । 

बिसे नगर्चीका योगदानका प्रमाण उहाँका सन्तानसँग सुरक्षित र ताम्रपत्र तथा ऐतिहासिक कागजातमा पाइन्छ । उहाँका सन्तानहरू गोरखा जिल्लाको माझकोटमा बसोबास गर्दै आएका छन् भने अहिलेसम्म गोरखा दरबारमा परिवारले परम्परागत बाजा बजाउने कार्यलाई निरन्तरता दिइरहेका छन् । त्यस ठाउँलाई जिल्लाकै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पर्छ भन्ने उद्देश्यका साथ केही युवा दिनरात नभनी लागे पनि बजेट अभावले बिसे नगर्ची पार्कमा झार उम्रनुका साथै नगर्ची पार्क भौतिक संरचनाले पूर्णता नपाउँदा प्रचारप्रसार गर्न नसकिएको स्थानीय शिवशङ्कर परियारको भनाइ छ ।