• २२ जेठ २०८२, बिहिबार

बैतडीमा इण्डो–नेपाल मेला बिहीबारदेखि

blog

बैतडी, जेठ २० गते । बैतडीमा इण्डो–नेपाल अन्तरराष्ट्रिय मेला २०८२ को तयारी भएको छ । मेला यही जेठ २२ देखि २६ गतेसम्म  जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी तथा मेला व्यवस्थापन समितिका सदस्यसचिव राजेन्द्र विष्टले बताउनुभयो । 

नगरपालिकाको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग तथा ग्वाल्लेक मिडिया ग्रुप प्रालिको व्यवस्थापनमा मेला सञ्चालनको तयारी भएको हो । 

मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमै भारतको उत्तराखण्ड विधानसभा सदस्य विसनसिंह चुफालको पनि विशेष उपस्थिति रहने जनाइएको छ । 

मेलामा नेपाल तथा भारतका कलाकारले प्रस्तुति रहनाका साथै  नेपाल र भारतका व्यापारिक कक्ष रहने मेलाका व्यवस्थापक हेमबाबु लेखकले बताउनुभयो । यसका साथै स्थानीय उत्पादनलाई पनि जोड दिँदै भारतबाट पनि विभिन्न व्यापारिक कक्ष रहन्छन् । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशभित्रका  कलाकार र भारतको उत्तराखण्डका कलाकारले प्रस्तुति दिनेछन्, मेलामा दुवै देशका व्यापारिक कक्ष पनि रहनेछन् ।” प्रवेश निःशुल्क राखिएको मेलामा स्थानीय कला, संस्कृति वेषभूषा र व्यापारलाई विशेष स्थान दिइने नगर प्रमुख पुष्करराज जोशीले बताउनुभयो । 

 उहाँले भन्नुभयो, “स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन र नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय र अन्तरराष्ट्रिय बजार विस्तार गर्न मेलाको आयोजना गरेका हौँ, यसका साथै बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध कायम गर्ने पनि हाम्रो उद्देश्य रहेको छ ।” इण्डो–नेपाल मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।