• २२ जेठ २०८२, बिहिबार

घोराहीलाई पूर्ण खोपयुक्त घोषणा

blog

कार्यक्रमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्मा र घोराहीका नगर प्रमुख नरुलाल चौधरी । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, जेठ २० गते । घोराही उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त  घोषणा गरिएको छ । पूर्ण खोप, सुनिश्चित भविष्य स्थानीय स्रोतको उपयोग, स्वामित्व सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित  घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले मंगलबार घोषणा सभा आयोजना गरेर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको हो ।

घोषणा सभामालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकाले खोप सुनिश्चित्तामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले जिल्लाका अन्य सबै स्थानीय तहले घोराही उपमहानगरपालिकाबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

यसैगरी घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले स्वास्थ्य क्षेत्रको विकासमा आफूहरूले विशेष प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो  । उहाँले मानवीय विकासबिना नगरको समृद्धि सम्भव नहुने बताउँदै स्वास्थ्य सेवा सुदृढीकरणमा निरन्तर लागिरहेको बताउनुभयो । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य सेवा अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यले सबैको सहयोगले घोराहीलाई पूर्ण खोप सुनिश्चित गराउन सफल भएको बताउनुभयो । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाकी प्रमुख राधा पौडेलले पूर्ण खोप सुनिश्चित्ता घोषणाको विषयमा प्रकाश पार्नुभएको थियो ।