• २१ जेठ २०८२, बुधबार

बौद्ध शिखर सम्मेलन

बुद्धको अवधारणा कार्यान्वयन जरुरी

blog

लुम्बिनीमा आयोजित बौद्ध आर्थिक सम्मेलनका सहभागी ।

भैरहवा समाचारदाता

भैरहवा, जेठ १९ गते । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुईदिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनमा सहभागी सरोकारवालाबाट सातबुँदे सामूहिक प्रतिबद्धता जनाइएको थियो ।

लुम्बिनी प्रदेश सरकार र विश्वविद्यालयको सहकार्यमा स्थानीय तथ्य र ज्ञानमा आधारित भई लुम्बिनीको गुणस्तरीय आर्थिक पर्यटन, पथप्रदर्शन सेवा, पर्यटक सेवा सुविधा, पुरातात्त्विक पर्यटन, पर्यटन स्थलको वातावरण, सम्पदामैत्री पर्यटन प्रवर्धनको आधार, लघुव्यवसाय, सिप तथा हस्तकलाको संरक्षण तथा संवर्धन, स्थानीय उत्पादनको प्रवर्धन र उपयोगलगायतका विषयमा मापदण्ड तथा सूचक तयार गरी प्रदेशस्तरीय एकीकृत पर्यटनसम्बन्धी कार्यविधि तर्जुमा गरिने प्रतिबद्धतामा उल्लेख छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै विश्वविद्यालयका योजना तथा मूल्याङ्कन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले लुम्बिनी क्षेत्रमा प्रदेशको प्रस्तावित लुम्बिनी क्षेत्र विकास प्राधिकरणसँग एकीकृत गरी बौद्ध आर्थिक ढाँचाको न्यूनतम अवस्था कार्यान्वयनको विषयगत खाका तयार गर्ने र बौद्ध दर्शनलाई दिगो विकासका लक्ष्यहरू हासिल गर्न प्रदेश अन्तर्गत सबै तह र निकायसँग समन्वय र सहकार्य गर्ने उल्लेख गर्नुभयो । विद्यालय शिक्षामा आधारभूत बौद्ध शिक्षाको पठनपाठनका लागि प्रदेश सरकार र विश्वविद्यालयको सहकार्यमा प्रदेशस्तरीय पाठ्यक्रम तर्जुमा गरी स्थानीय तहसँगको समन्वय र सहकार्यमा त्यसलाई कार्यान्वयन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सम्मेलन समापन गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्यले बौद्ध शिक्षालाई आर्थिक विकास र सामाजिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले समकालीन आर्थिक चुनौती समाधानका लागि सबै तहमा बौद्ध शिक्षाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध आर्थिक अवधारणालाई अनुसन्धान, शिक्षा र विकाससँग समाहित गर्दै लुम्बिनीलाई एक आध्यात्मिक र समृद्ध आर्थिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यमा प्रतिबद्ध रहेकाले यसका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो ।  

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले लुम्बिनीको पर्यटन प्रवर्धनका लागि मन्त्रालयले विभिन्न योजना अघि बढाएको जानकारी गराउनुभयो । दुईदिने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञद्वारा विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।