बाबुराम देवकोटा
कुसुमटार (सिन्धुली), जेठ १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम चित्तबुझ्दो नभए ठेक्का तोडिने बताउनुभएको छ । मन्त्री खड्काले आइतबार उक्त आयोजना निर्माणको स्थलगत अनुगमनका क्रममा सो कुरा बताउनुभएको हो । मन्त्री खड्काले कमलामाई नगरपालिका–२, कुसुमटारमा सुरुङमार्ग र सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा निर्माण सुरु गरेको बाँधको स्थलगत निरीक्षण गर्नुभएको हो । सो अवसरमा उहाँले बाँध निर्माण गरिरहेको निर्माण कम्पनी पटेल–रमण जेभीको कार्यप्रगति निकै सुस्त भएपछि उक्त कम्पनीसँगको ठेक्का तोडिन सक्ने धारणा राख्नुभएको हो ।
“राज्यको यति ठुलो र महìवपूर्ण आयोजनाको कार्यप्रगति कमजोर रह्यो भन्ने बुझाइका साथ हामी यहाँ आइपुगेका हौँ,” उहाँले भन्नुभयो, “समय सकिन लागिसक्यो, बाँकी समयको पूर्ण सदुपयोग गरेर समयमै आयोजना निर्माण सम्पन्न गराउनु पर्दछ । निर्माण कम्पनीबाट चित्तबुझ्दो काम नभए सरकार चुप लागेर बस्दैन ।”
कार्यस्थलको पनि निरीक्षण गरेको र निर्माण व्यवसायीको पनि गुनासो अवगत भएको जानकारी दिँदै मन्त्री खड्काले भन्नुभयो, “बाढीपहिरो र प्राविधिक समस्याको पनि कुरा उहाँहरूले राख्नुभयो । सबै कुराको मूल्याङ्कन गरेर ठोस निर्णय लिने छौँ ।”
आयोजना समयमा सम्पन्न गराउन बजेटको अभाव हुन नदिने सरकारको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । पटेल–रमण जेभीले चार वर्ष सात महिनामा सक्ने गरी विसं २०७९ माघमा सम्झौता गरेर सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँधको निर्माण अघि बढाएको छ । उक्त कम्पनीले बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा ठेक्का सम्झौता गरेको हो । पटेल–रमण जेभीले सम्झौता गरेको ५० प्रतिशत समय सकिँदा बाँध निर्माणको काम अहिलेसम्म करिब ८.८ प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।
आयोजना अन्तर्गत कुसुमटारबाट १३.३ किलोमिटर लम्बाइको सुरुङमार्ग टनेल बोरिङ मेसिनबाट निर्माण गरी गत वर्ष वैशाखमा ‘ब्रेक थ्रु’ भइसकेको सकेको छ । उक्त ५.५ डायमिटरको सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले करिब ११ अर्ब रुपियाँमा ठेक्का लिएको थियो ।
आयोजनाका प्रमुख बद्री कार्कीले बाँध निर्माणको काम जुन गतिमा अघि बढ्नु पर्दथ्यो, त्यो गतिमा निर्माण नभएको बताउनुभयो । बाँध निर्माणका लागि जेभीमा दुई वटा निर्माण कम्पनीले सम्झौता गरेका भए पनि रमण कन्स्ट्रक्सनले मात्रै काम गर्दै आएको जानकारी दिनुभयो ।
सुनकोेशी नदीमा बाँध निर्माण भएपछि १३.३ किलोमिटर लम्बाइको सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिणखोलामा खसालेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकामा बढेर हाल ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको आयोजना आव २०८४/८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।
आयोजनाका अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणमा बाँध, पावर हाउस, पानी फर्काउने इन्टेकलगायतका संरचना निर्माण हुने छ । चार चरणमा रहेको बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको आयोजनाले जनाएको छ ।