• २० जेठ २०८२, मङ्गलबार

गोरखापत्रकर्मी खानसहित चार जना पत्रकार सम्मानित

blog

गोरखापत्रकर्मी सिराज खानलाई सम्मानित गर्नुहुँदै प्रेस काउन्सिल भारतका पूर्व सदस्य रिजवी । तस्बिर सौजन्य : शादाब हुसेन

सिराज खान
नेपालगन्ज, जेठ १९ गते ।
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपालका चारजना पत्रकार भारतमा सम्मानित हुनुभएको छ ।

भारतको उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनले बहराईच जिल्लामा आइतबार आयोजना गरेको अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन–२०२५ कार्यक्रममा गोरखापत्रकर्मी खानसहित रेडियो नेपालका संवाददाता आलम खान, रेडियो मर्निङ स्टारका सम्पादक डा.डक्टप्रसाद धिताल र गुड न्यूज डटकमका संवाददाता सविता चन्द ठकुरी सम्मानित हुनुभएको हो ।

नेपाली पत्रकारितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुरयाएको उल्लेख गर्दै उहाँहरुलाई सम्मान गरिएको हो ।

वरिष्ठ महामण्डलेश्वर स्वामी रवि गिरि जी महाराज, उत्तर प्रदेशका विधायक राम निवास बर्मा, विधायक सुभाष त्रिपाठी र सदाब हुसेनद्वारा हस्ताक्षरित सम्मान पत्रलाई प्रेस काउन्सिल भारतका पूर्व सदस्य रजा हुसेन रिजबीले संयुक्त रुपमा पत्रकारहरुलाई हस्तान्तरण गरेर सम्मानित गर्नुभयो ।

सो सम्मान कार्यक्रममा बोल्नुहुँदै उत्तर प्रदेशका विधायक बर्माले त्रिय युगदेखिको नेपाल–भारत सम्बन्ध रहेकाले पत्रकारिता क्षेत्रबाट यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल–भारत रोटी बेटीको सम्बन्ध भएका कारण सञ्चार माध्यमले यो सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्का बिधायक त्रिपाठीले थुप्रै परिवर्तनदेखि विकासका क्षेत्रमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेका कारण नेपाल तथा भारतका नाकामा पनि सहज बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा दुई दर्जनभन्दा बढी भारतीय पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।