• २० जेठ २०८२, मङ्गलबार

अभौतिक सम्पदा संरक्षणको पहल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १९ गते  । नेपालमा पुस्तौँदेखि बोल्दै, सुन्दै, सुनाउँदै आएको ज्ञान, कथा, गीत, कविता, भनाइ, उखानटुक्का, किंवदन्ती, मौखिक इतिहास, परम्परा वा अभिव्यक्तिलाई सरकारले कानुन बनाएर सूचीकरण गर्ने भएको छ । भौतिक सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापनका लागि प्राचीन स्मारक ऐन–२०१३ रहे पनि सो ऐनले अभौतिक सम्पदासम्बन्धी विषयलाई सम्बोधन गरेको छैन । 

सरकारले कानुनी रिक्तता पूरा गर्न अभौतिक सांस्कृतिक सम्पदा संरक्षण गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ ल्याएको हो । राष्ट्रिय सभामा दर्ता भएको सो विधेयकमार्फत सरकारले अभौतिक सम्पदा संरक्षण गर्ने पहलकदमी लिएको छ । नेपाल अभौतिक संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र हो तर सोको कार्यान्वयनका लागि कानुन छैन । विधेयकमा अभौतिक सम्पदाको वर्गीकरण, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन, सम्पदाको स्वामित्व, सम्पदा नाश गर्ने बिग्रनेखालका कार्य रोक्ने, सम्पदा संरक्षण कोषसम्बन्धी व्यवस्था गरिएको छ । अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीमा समावेश गर्ने, त्यस्तो सूची अद्यावधिक गर्नेसम्बन्धमा सिफारिस, राय तथा सुझाव पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको संस्कृति महाशाखाका प्रमुख संयोजक रहने गरी सात सदस्यीय सिफारिस समिति रहने छ । 

समितिमा भाषा आयोग, नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, राष्ट्रिय अभिलेखालयका प्रतिनिधि सदस्य तथा संस्कृति शाखाका प्रमुख सदस्यसचिव रहने व्यवस्था गरिएको छ । सदस्यको पदावधि तीन वर्षको हुने छ । समितिले सम्पदालाई राष्ट्रिय सूचीमा सूचीकृत गर्न मापदण्ड तयार गर्ने, सूची तयार गर्ने, अद्यावधिक गर्ने र सार्वजनिक गर्ने प्रक्रिया तय गर्ने छ । 

अभौतिक सांस्कृतिक सम्पदाको निरन्तर रूपमा अभ्यास, संरक्षण र प्रवर्धन गरी समुदायमा पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई समितिको सिफारिसमा जीवन्त मानव सम्पदा घोषणा गरी सूचीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । प्रदेश र स्थानीय तहले समेत कानुन बनाई प्रदेश र स्थानीयस्तरका अभौतिक सांस्कृतिक सम्पदा पहिचान, संरक्षण तथा प्रवर्धन गर्न सक्ने विधेयकमा प्रस्ताव गरिएको छ । 

अभौतिक सम्पदा अन्तर्गत पुस्तौँदेखि बोल्दै, सुन्दै, सुनाउँदै आएको ज्ञान, कथा, गीत, कविता, भनाइ, उखानटुक्का, किंवदन्ती, मौखिक इतिहास, अभिनय वा मञ्चन कला, सामाजिक अभ्यास, अनुष्ठान, जात्रा वा पर्व, उपचार पद्धति, ज्योतिषविज्ञान, खगोलविज्ञान, कलात्मक सामग्री उत्पादन, परम्परागत खेल, खाद्य परिकार, पहिरन वा आभूषणसम्बन्धी ज्ञान जस्ता विषयवस्तु समेटिएका छन् ।