• २० जेठ २०८२, मङ्गलबार

मन्दिर गएर सुर्ती प्रयोग नगर्ने सङ्कल्प

blog

फाइल तस्बिर ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १९ गते । भक्तपुर क्यान्सर अस्पताल र बुढानीलकण्ठ नगरपालिकाले संयुक्त कार्यक्रम गर्दै बुढानीलकण्ठ मन्दिर परिसरमा लगेर सहभागीलाई कहिल्यै पनि सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने सङ्कल्प गराएका छन् । 

कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले सुर्तीजन्य पदार्थ सेवन आफू पनि नगर्ने र अरूलाई पनि नगर्न सङ्कल्प गराउनुभएको थियो । मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थ सेवनमा अझै कर बढाउनुपर्ने बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थको असरले सामाजिक, आर्थिक र मानसिक असर परिरहेको उल्लेख गर्दै युवापुस्तालाई धूमपानबाट टाढै राख्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय, क्याम्पस र समुदायका प्रत्येक तहबाट यसविरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सुर्तीजन्य पदार्थ प्रयोगले हुने असरबारे विद्यार्थीलाई जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले मन्दिरमा कार्यक्रम गरेर प्रतिज्ञा गरेपछि त्यसले छुट्टै सन्देश दिने भन्दै धूमपानविरुद्धको अभियानमा लाग्नुपर्ने बताउनुभयो । बुढानीलकण्ठ मन्दिर परिसरमा शनिबार सुर्तीजन्य पदार्थविरुद्ध ¥याली, नाटक प्रदर्शन तथा सङ्कल्प कार्यक्रम सम्पन्न भएको थियो । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले सुर्तीजन्य पदार्थ सेवनबाट हुने असर न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्तीबाट उठेको करको ५० प्रतिशत सुर्तीजन्य पदार्थबाट लाग्ने रोगको उपचारमा लगाउनुपर्ने बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले करको लोभमा युवापुस्तालाई सुर्तीजन्य पदार्थको लतमा फसाइरहेको बताउनुभयो । उहाँले राजस्वमोहमा सुर्तीजन्य उद्योगलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेको उल्लेख गर्दै ती उद्योगले नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको बताउनुभयो ।