जनार्जन खत्री
सर्लाही, जेठ १८ गते । मधेशमा हलगोरु पालेर खेती लगाउने प्रचलन हराउँदै गएको छ । खेतबारी खनजोतका लागि सहजरूपमा ट्याक्टर उपलब्ध हुन थालेसँगै गोरु पाल्ने प्रचलन लोप हुने अवस्थामा पुगेको हो । हिजोआज गाउँघरमा गोरु पाल्ने किसान भेट्न मुस्किल पर्छ ।
खेतबारीको बाँझो जोत्न र बाली लगाउन तराईको फाँटमा जताततै ट्याक्टरकै प्रयोग हुन थालेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारीबथानका जगतलाल यादवले गाउँमा अहिले एक-दुई हल गोरु मात्रै रहेको बताउनुभयो ।
आफूले ६० वर्ष पुग्दासम्म पनि हलगोरु पालेर जोतिरहेको यादवको भनाइ छ । “पहिला सबैले गोरु पालेरै जोत्थे तर अब त मान्छेले गोरु पाल्नै छाडे,” यादवले भन्नुभयो, “गाउँघरमा अहिले एक, दुई हल मात्रै गोरु छन् ।”
मकै रोप्ने र जोत्ने बेला एक बिहानको एक हजार ५०० रुपियाँमा हल गोरु लगेर जोत्दै आएको यादवको भनाइ छ । गोरु पाल्ने प्रचलन हराउँदै गएपछि गाउँघरमा हलो, जुवा बनाउने मानिसको पेसा समेत सङ्कटमा परेको छ ।
चुरेक्षेत्रस्थित महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमाराका बुद्धिमान विश्वकर्माले खेतबारी जोत्न सहजरूपमा ट्याक्टर पाइन थालेपछि दुई वर्षदेखि गोरु पाल्न छाडेको बताउनुुभयो । पाखाको बारी र फेदीको खेत ट्याक्टरले जोत्न थालेपछि गोरु बेचेको विश्वकर्माको भनाइ छ ।
गाउँघरबाट युवा पुस्ता वैदेशिक रोजगारीमा पलाएन हुनेक्रम बढेसँगै हलगोरु पालेर खेती लगाउने प्रचलन पनि हराउँदै गएको ६३ वर्षीय विश्वकर्माले बताउनुुभयो । “बढेका छोरा, बुहारी सहर र विदेशतिर पसेकाले गाउँघरमा घाँस काट्ने, गोरु जोत्ने मान्छे पनि छैनन्,” विश्वकर्माले भन्नुुभयो, “अब सबै सुखसँग बस्ने भए, गोरु पाल्ने मान्छे गाउँघरमा भेट्नै मुस्किल छ ।”
गोरुभन्दा ट्याक्टरबाट जोत्दा सहज र छिटो हुने किसानको भनाइ छ । ट्याक्टरको तुलनामा हलगोरुबाट जोतेर गरिएको खेती राम्रो हुने किसान बताउँछन्।
गोरुले जोते झैँ ट्याक्टरले जोतेको राम्रो नहुने किसानको बुझाई छ । “छिटो हुन्छ भन्ने मात्रै हो तर ट्याक्टरबाट गरिएको खेती आधिसरो बाँझै बस्छ,” अर्का किसान राजदेव यादवले भन्नुभयो,“अहिलेका युवा गाउँघरमा बसेर हलगोरु पाल्न इच्छा गर्दैनन् ।”
हलगोरु पाल्ने प्रचलन हराउँदै गएसँगै गीत गाउँदै मकै रोप्ने, गोरुका विभिन्न नाम राखेर खेतबारी जोत्नेजस्ता पुराना संस्कृति पनि सँगै मासिँदै गएको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा ९९ प्रतिसत किसानले खेतबारी ट्याक्टरले जोतेर खेती गर्ने गरेका छन् ।
कार्यालयका प्रमुख कमलदेवप्रसाद कुशवाहाले खेतीका लागि आधुनिक औजारउपकरण र प्रशस्त मात्रामा ट्याक्टर भित्रिएसँगै हलगोरु पालेर खेती गर्ने किसान निकै कम रहेको जानकारी दिनुुभयो । “अब गोरु पालेर दुःख गर्ने किसान भन्दा पनि ट्याक्टर लगाएर खेती गर्ने किसान अधिक छन्,” कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कुशवाहाले भन्नुुभयो,“ हाम्रो जिल्लामा त झन् गोरु नै पालेर खेतीपाती गर्ने किसान धेरै कम हुनुहुन्छ ।”
ट्याक्टर पुग्न नसक्ने चुरेडाँडाका केही किसानले मात्रै गोरु नारेर पाखो भित्ता बारीमा खेती लगाउने गरेका छन् । गोरु पाल्ने प्रचलन हराएसँगै यहाँको बयलवास र बरहथवास्थित गोरु बजारमा गोरुको किनबेच समेत न्यूनमात्रामा हुने गरेको व्यापारीले बताएका छन् ।