शङ्कर केसी,
सल्यान, जेठ १८ गते । कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत सल्यानको शारदा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा गरिने भएको छ ।
प्राकृतिक विपदबाट हुने क्षति र जोखिमलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्षभित्र नगरपालिकाले व्यावसायिक प्रयोजन बाहेकका सबै आवासीय घरहरूको अधिकतम २० लाख रुपियाँसम्मको बिमा गर्न लागेको हो । प्रदेशको घर बिमा कार्यक्रममा सल्यानका स्थानीय तहहरुमध्ये शारदा नगरपालिका मात्र छनोट भएको छ ।
घरधुरीको पहिचानका लागि हाल नगरका १५ वटै वडामा सर्वेक्षण कार्य थालिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार करिब १० हजार घरधुरीलाई बिमा कार्यक्रमबाट प्रत्यक्ष लाभ पुग्ने छ ।
नगर प्रवक्ता राजेशकुमार शर्माका अनुसार जेठ २० गतेसम्ममा सम्पूर्ण घरधुरी विवरण सङ्कलन गरिसक्ने लक्ष्य छ । सङ्कलन गरिएको तथ्याङ्कका आधारमा घरको मूल्याङ्कन गरिने उहाँको भनाइ छ ।
पक्की, परम्परागत, काठ, ढुङ्गामाटो, पराल आदि प्रयोग गरेर बनाइएका आवासीय घरहरूको बिमा गरिने छ । व्यावसायिक प्रयोजनका भवनहरू भने यसबाट बाहिर रहने छन् । यसैगरी बसोवास गर्दै आएका तर घर ऐलानीमा भए पनि चार किल्ला छुट्याएर घर बिमामा समावेश गरिने प्रवक्ता शर्माले बताउनुभयो ।
घर बिमा कार्यविधि अनुसार भूकम्प, आगलागी, बाढी, डुबान, हावाहुरी, जमिन भासिने, चट्याङ, विस्फोटन र हुलदङ्गाजस्ता ९ प्रकारका प्राकृतिक तथा अप्रत्याशित विपद्बाट क्षति पुगेमा बिमाबाट क्षतिपूर्ति दिइने व्यवस्था छ ।
नगर प्रमुख प्रकाश भण्डारीले शारदा नगरपालिका भौगोलिक दृष्टिले प्राकृतिक जोखिमयुक्त क्षेत्र भएकाले यो कार्यक्रम अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी घरबासलाई मात्र होइन, त्यसमा बस्ने नागरिकको जीवन र सुरक्षित भविष्यलाई केन्द्रमा राखेर अघि बढिरहेका छौं । विपदबाट क्षति भएमा पीडित परिवारलाई राहत दिने यो कार्यक्रम नगरवासीका लागि सुरक्षाको भरपर्दो आधार बन्ने छ ।”
कार्यविधिअनुसार एक घरधुरीको एक घरको बिमा शुल्क प्रदेश सरकारले नै भुक्तानी गर्नेछ । यदि बिमाङ्क २० लाख रुपियाँभन्दा बढी छ वा एउटै परिवारका एकभन्दा बढी घर छन् भने त्यसको अतिरिक्त शुल्क घरधनीले आफैं बेहोर्नुपर्ने छ ।
सवै प्रक्रिया पूरा भएपछि स्थानीय तहको सिफारिस र बिमकको डेबिट नोटको आधारमा १५ दिनभित्र प्रदेश सरकारले बिमा शुल्क बिमक कम्पनिलाई भुक्तानी गर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।
घर बिमा कार्यक्रम कार्यान्वयन गर्न नेको इन्स्योरेन्स लिमिटेड सल्यान शाखासँग सहकार्य गरिएको छ । हालै सम्पन्न बैठकमा नगर प्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, नेको इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख रमेशराज शर्मा र सल्यान शाखा प्रमुख नारायण दाहालको सहभागिता थियो । शारदा नगरपालिकाले सबै नगरवासीलाई सक्रिय भएर यो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।