• १५ असार २०८१, शनिबार

सुर्नयाको पानी लिफ्ट गरी पाटनमा वितरण

blog

बैतडी समाचारदाता

बैतडी, जेठ ३० गते । सुर्नया नदीको पानी पिउने पाटनवासीको वर्षौंको सपना पूरा भएको छ । १३ करोड रुपियाँको लागतमा बृहत् खानेपानी योजना पूरा भएसँगै बैतडी जिल्लाको पाटनमा खुसियाली छाएको छ ।

सरकारले देशका विभिन्न भागमा १० वटा नयाँ सहर बनाउने योजना अगाडि बढाएको छ । त्यसमध्येको एक पाटनमा खानेपानीको ठूलो समस्या थियो । सुर्नया नदीको पानी लिफ्ट गरी पाटनमा पानी पु¥याइएको छ । पाटनमा खानेपानीका ६४४ वटा धारामार्फत पानी वितरण गरिने जनाइएको छ ।

उपभोक्ता समितिका अध्यक्ष छविराज जोशीका अनुसार खानेपानी निर्माणसँगै बजार क्षेत्रको लाइन विस्तार भइरहेको छ । सुर्नया नदीबाट पानी तान्न २५ हर्स पावरका दुईवटा मोटर जडान गरिएको छ । खानेपानी भण्डार, निर्मलीकरण र वितरण गरेर पाँचवटा ट्याङ्की निर्माण गरिएको छ ।

निर्माण व्यवसायी दानसिंह रावलका अनुसार ठेक्कामार्फत हुने काम पूरा भएको छ । ८० हजार लिटरको एक ट्याङ्की, ६० हजार लिटरको दुईवटा र ५० हजार र ४० हजार लिटरका गरी जम्मा पाँचवटा ट्याङ्की निर्माण भएका छन् । खानेपानी आयोजनाको कार्यालय र सुरक्षा गार्ड बस्ने घर र बाटोको काम पनि सम्पन्न भएको जनाइएको छ ।

सङ्घीय सरकारको सहयोगमा निर्माण भएको खानेपानी आयोजनाले पाटन नयाँ सहरको विकासमा टेवा पुग्ने उपभोक्ता केशव खत्रीले बताउनुभयो । खत्रीले सुर्नया नदीको पानी लिफ्ट भएपछि पानीको ट्याङ्कर किन्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।

होटल व्यवसायी करन महराले पानीको समस्याका कारण होटल व्यवसाय सञ्चालन गर्न धौधौको अवस्था रहेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “मासिक ३० हजार रुपियाँको त पानी किनेर होटल सञ्चालन गरिएको थियो । खानेपानी आइपुग्दा खुसी लागेको छ ।”

उपभोक्ता समितिका अध्यक्ष जोशीले धारा निर्माण गरेर केही समयपछि पानी वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुख्य ट्याङ्कीमा पानी झरेपछि बजार क्षेत्रमा पानी वितरण गर्न लाइन विस्तारको काम अघि बढेको छ । धाराको मिटर जडान गरेर पानी वितरण गर्ने तयारी गरिरहेको छ ।”