नौरते नेपाली
सिँजा (जुम्ला), जेठ १८ गते । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित फुलचौल्यामा पर्यटकका लागि सुविधा सम्पन्न धर्मधाला निर्माण गरिएको छ । गिडिदहलाई थप पर्यटक प्रवर्धन गर्न पर्यटन मैत्री धर्मशाला निर्माण गरिएको हो ।
वडाध्यक्ष अमरबहादुर रोकायाले कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपियाँको लागतमा “गिडिदह पर्यटन प्रवर्धन फुलचौल्या पूर्वाधार निर्माण योजना”अन्तर्गत धर्मशालाको निर्माण गरिएको बताउनुभयो ।
डिभिजन वन कार्यालय जुम्लाको प्राविधिक सहयोग धर्मशाला निर्माण रहेको छ । धर्मशाला निर्माणले गिडिदहको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको रोकायाको भनाइ छ । प्रवेशद्वारमा निर्माण भएको धर्मशालाले गिडिदहलाई पर्यटकीय गन्तव्यको रूपमा थप आकर्षक बनाउनेछ ।
यहाँको प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउन यो कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । धर्मशाला निर्माण कार्यमा संलग्न गिडिदह पर्यटकीय क्षेत्र प्रवर्धन उपभोक्ता समिति, युवा कामदार, योजना प्रस्ताव गर्ने तातोपानी गाउँ कार्यपालिका, बजेट विनियोजन गर्ने कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कार्यान्वयनमा सहयोग गर्ने डिभिजन वन कार्यालय जुम्लालाई उहाँले धन्यवाद दिनुभएको छ ।
धर्मशालाले स्थानीय पर्यटनलाई प्रोत्साहन गर्नुका साथै पर्यटकहरूलाई सुविधा सम्पन्न बसाईमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । धर्मशालासँग खानेपानी धारा र शौचालय पनि निर्माण भएका छन् । निर्माण कार्यको अनुगमन डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत भरत बुढथापा र तातोपानी गाउँपालिका–४ को संयुक्त अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा निर्माण कार्य गुणस्तरीय र तोकिएको मापदण्ड अनुसार भएको पाइएको डिभिजन वन अधिकृत बुढथापाले बताउनुभयो । समुन्दी सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको तालको गहिराई ४२.३ मिटर, लम्बाइ एक हजार पाँच सय १० मिटर छ । ठुलो तालको लम्बाइ एक हजार ६० मिटर र चौडाइ तीन सय १० मिटर छ भने गिडिदहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको वडाध्यक्ष रोकायाले बताउनुभयो ।