• १९ जेठ २०८२, सोमबार

पाँच हजार बचत फिर्ता लिन दिनभर घाममा

blog

कर्णाली विकास बैंकको गुलरिया शाखामा पाँच हजार निक्षेप फिर्ता लिन पुगेका स्थानीयहरू । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया), जेठ १८ गते ।
गुलरिया नगरपालिका–४, सुहेलवा बस्ने टिका योगीले आफ्नो जग्गा बिक्री बापतको १२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैंकमा खाता खोलेर बचत राख्नुभयो ।

त्यति बेलासम्म बैंक सहज तरिकाले सञ्चालन भइरहेको थियो । तर, पैसा राखेको केही महिना नबित्दै २०८१ पुस १० गते राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई आफ्नो नियन्त्रणमा राख्ने निर्णय गर्‍यो । त्यसपछि  कर्णाली विकास बैंकले महिनाको तीन पटक निक्षेप कर्ताहरूलाई पाँच हजारका दरले रकम भुक्तानी दिन थालेपछि अहिले ४२ डिग्री तापक्रममा मानिसहरू बैंक धाउन बाध्य भएका छन् । 

आफूले जग्गा बिक्री गरेर बैंकमा राखेको पैसा निकाल्न खोज्दा योगीले पैसा पाउनुभएन । राष्ट्र बैंकको नियन्त्रणमा पुगेको कर्णालीको व्यवस्थापन अझै सुदृढ हुन सकेको छैन भने टिका जस्ता सयौँ निक्षेप सङ्कलनकर्ताहरू यति बेला बिचल्लीमा परेका छन् ।

बर्दिया मात्र हैन बाँकेको नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैंकको दाङ, बाँके बर्दियाका १९ वटा शाखामा अहिले दैनिक मानिसहरू आफ्नो निक्षेप फिर्ताका लागि धाउन थालेका छन् । जग्गा बिक्री गरेर अन्यत्र जग्गा खरिद गर्न आफूले जम्मा गरेको निक्षेप रकम फिर्ता नपाउँदा आफ्नो रकम भुक्तानी नपाएको गुनासो टिका योगीले गर्नुभयो ।

राष्ट्र बैंकले नियन्त्रणमा लिएको कर्णाली विकास बैंकले अहिले महिनामा तीन पटक निक्षेप सङ्कलनकर्ताहरूलाई पाँच हजारको दरले निक्षेप फिर्ता गर्ने गरेको छ । “पैसा झिक्न बैंक आउँदा बैंक डुबी सकेको थाहा भयो अहिले पाँच हजार भए पनि लिनुपर्ने अवस्था छ ।” बार बर्दिया नगरपालिका– १० का मिकीलाल थारुले बताउनुभयो । तराईमा बढ्दो गर्मीसँगै अहिले मानिसहरू आफ्नो निक्षेप फिर्ता पाइन्छ कि भनेर दिनदिनै बैंक धाउने  गरेको गुलरिया नगरपालिका–१२ निवासी अब्दुल बारीले बताउनुभयो ।

राष्ट्र बैंकका अनुसार कर्णाली विकास बैंक अहिले पनि एक अर्ब ३३ करोड घाटामा रहेको देखिन्छ । विगत देखिनै कर्णाली विकास बैंक धराशायी बन्दै गएको भन्दै यस अघि पनि बैंकका अध्यक्ष राजेन्द्र वीर राय र निर्देशक दिनेश रावतलाई पाँच–पाँच लाख रुपियाँ जरिवाना तिराएर बर्खास्त गरेको कर्णाली विकास बैंकका प्रवक्ता विष्णुकुमार विश्वकर्माले बताउनुभयो ।

बैंकको निक्षेप सङ्कलन चार अर्ब ५० करोड देखिन्छ भने कर्जा लगान दुई अर्ब लगानी र ८० करोड ब्याज आउन बाँकी देखिन्छ । कर्णाली विकास बैंकको बर्दियामा मात्र गुलरिया, मधुवन, राजापुर, भुरिगाउँ र बाँसगढी गरी पाँच वटा शाखा सञ्चालनमा छन् ।