• १९ जेठ २०८२, सोमबार

छात्रछात्राको सहभागितामा मुना सम्मेलन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १८ गते । राजधानीका विभिन्न स्कुलका छात्रछात्राको सहभागितामा मुना सम्मेलन सम्पन्न भएको छ । गोरखापत्र, संस्थान, बालपत्रिका मुना मासिकद्वारा १८ औँ गणतन्त्र दिवसका सन्दर्भमा मुना सम्मेलन बालबालिकालाई साहित्य, कला, चित्रकलाको माध्यमबाट सिर्जनशील बन्न पे्ररित गर्ने उद्देश्यले आयोजना गरिएको हो । 

सो अवसरमा गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनमध्ये मुना मासिकले बालबालिकालक्षित साहित्यिक खुराकसँगै बालबालिकालाई पढ्न र लेख्नसमेत प्रेरित गर्दै आएको बताउनुभयो । उहाँले पहिलो पटक आयोजित मुना सम्मेलनको लक्ष्य पनि बालबालिकालाई मोबाइललगायतका सामग्रीमा मात्र समय नबिताई मुना मासिक पढ्न र आफ्ना लेख, रचना पठाएर छाप्न पनि प्रोत्साहित गर्नका लागि हो, भन्नुभयो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानले प्रकाशन गर्ने सात वटा प्रकाशनमध्ये बालबालिकाका लागि मनोरञ्जनका साथै साहित्य, कलामा रुचि बढाउन मुना मासिक निरन्तर प्रकाशन हुन थालेको ३५ वर्ष पुगेको बताउनुभयो । उहाँले पाठ्यक्रमसँगै अतिरिक्त ज्ञान लिन मद्दत गर्ने मुना मासिकलाई नियमित पढ्नुका साथै बालबालिकाको साहित्य, कला प्रतिभा प्रस्फुटनका लागि मुना मासिकले दिँदै आएको अवसरको  सदुपयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बालसाहित्यकार तथा परीक्षा नियन्त्रक गणेश भट्टराईले बालसाहित्य लेख्नेको सङ्ख्या बढ्यो भने बालसाहित्यको भण्डार समृद्ध बन्दै जाने विचार व्यक्त गर्दै साना बालबालिकाले लेख्ने कला सुरु गर्ने तरिकाबारे चर्चा गर्नुभयो । त्यसै गरी बालसाहित्यकार एवं पत्रकार अनन्त वाग्लेले मानव पुस्ताबारे चर्चा गर्दै हालका जेन जी पुस्ताका चुनौती र अवसरको जानकारी दिनुभयो ।

सो अवसरमा वल्र्ड बुक अफ रेकर्डमा नाम लेखाउन सफल नेपाली किशोरी अपेक्षा शेरचनले आफू तीन वर्षको उमेरदेखि नै स्कुलको शिक्षाका अतिरिक्त क्रियाकलापहरू मोडलिङ, लेखनलगायतका विविध अवसरको सदुपयोग गर्दै अगाडि बढ्दा १३ वर्षको उमेरमै रेकर्ड राख्न सफल भएको अनुभव बताएर बालबालिकालाई प्रेरित गर्नुभयो ।