काठमाडौँ, जेठ १७ गते । प्रतिनिधिसभा सदस्य गङ्गाप्रसाद यादवले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदमा सरकार, कर्मचारी र आम नागरिकको हेराई फरक रहेकाले स्रोत साधन वितरणमा विभेद भएको बताउनुहुन्छ । गोरखापत्र अनलाइन डट कमसँगको भिडियो अन्तर्वार्ता ‘सांसदलाई सवाल’ मा उहाँले सो कुरा बताउनुभयो ।
प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसद सबै जनताको मतबाटै निर्वाचित भएर आउने भए पनि प्रत्यक्ष र समानुपातिक सांसदलाई गरिने सरकारको व्यवहार समान नरहेको उहाँको बुझाइ छ । सरकारले दिने सुविधा र बजेटमा विभेद छ, कर्मचारी र आम नागरिकको बुझाइ पनि फरक देखिन्छ उहाँले भन्नुभयो, “सांसदबिच विभेद गर्नु नपर्ने हो, प्रत्यक्ष निर्वाचित सांसदले गर्ने र समानुपातिक सांसदले गर्ने काम एउटै हो भने फेरि किन पक्षपात ?”
सांसदबिच विभेद गर्नु नपर्ने हो, प्रत्यक्ष निर्वाचित सांसदले गर्ने र समानुपातिक सांसदले गर्ने काम एउटै हो भने फेरि किन पक्षपात ?
सांसदको मुख्य काम ऐन नीति बनाउनु भए पनि ग्रामीण क्षेत्रमा बसोवास गर्ने भुइँमान्छेहरूको चाहना विकास हो । उहाँहरूले सांसदबाट विकास चाहनुहुन्छ, ऐन नियम होइन । तर हामीले आफ्नो जिम्मेवारी बिर्सनु हुँदैन । प्रमुख काममा हामी बढी व्यस्त हुनुपर्छ । यो विषय भुइँमान्छेहरूलाई अझै बुझाउन नसकिएको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा सिराहा जिल्ला इन्चार्ज समेत रहनुभएका सांसद यादवले मुलुक सङ्घीय शासन प्रणालीमा गए पनि बुझाइ अझै केन्द्रिकृत शासन व्यवस्थाकै रहेको दाबी गर्नुभयो । मुलुक सङ्घीयतामा गएपछि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार गरी तीन तहको सरकार भए पनि विकासका लागि जनताले सांसदसँग अपेक्षा गर्न नछाडेको उहाँको बुझाइ छ ।
‘सांसदको प्रमुख काम नीति, ऐन बनाउने हो तर जनताको माग विकास हो । ऐन बनाउनुपर्छ, छिटो सङ्घीयता कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा जनतालाई बुझाउन नसकिएको, स्थानीय विकासमा सांसदले भूमिका खेल्नुपर्छ भन्ने बुझाइ अद्यापि जनतामा रहेको छ, त्यो कुरा बुझाउन सकिएको छैन’ उहाँले भन्नुभयो । टोलमा एउटा विद्युत् पोल ढल्दा समेत सांसदले भनिदिनुपर्ने अवस्था अझै रहेको उहाँले बताउनुभयो ।
पूर्व उपप्रधानपञ्च र गाविस अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्नुभएका सांसद यादवले देशको सम्पूर्ण विकासमा सही ऐन कानुन निर्माण गरी त्यसको सही कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्रीले, मन्त्री तथा नेताले चाहेर मात्र विकास हुन नसक्ने, विकास अभियानमा सबैको हातेमालो र सहयोगको खाँचो उहाँले औल्याउनुभयो ।
लहान नगरपालिका वडा नं. १३ सिराहामा २०१८ साल वैशाख १५ गते बुवा हनुमानी यादव र आमा सुदामा यादवको कोखबाट जन्मनुभएका सांसद यादव सुरुमा कर्मचारी भएर काम गरेको स्मरण गर्नुभयो । आफू करिब दुई वर्षबढी समय कर्मचारी भूमिकामा रहँदा पनि तत्कालीन अनेरास्ववियूमा आबद्ध भएर काम गरेकाले राजनीतिक चेतना त्यहीबाट आर्जन गरेको बताउनुभयो । उहाँ पछि उपप्रधानपञ्चमा निर्वाचित भएपछि राजनीतिक रूपमा थप चेतना वृद्धि भएको उहाँको बुझाइ छ ।
आफू उपप्रधानपञ्च रहँदै गाउँमा कृषि र सिँचाइका लागि सक्रिय भूमिका खेलेका कारण राजनीतिक पृष्ठभूमि निर्माण भएको उहाँले स्मरण गर्नुभयो । गाउँमा जमिन्दारी प्रथा हाबी रहेका बेला आफू कम्युनिष्ट आन्दोलनमा सक्रिय भएको सांसद यादवको भनाइ छ । उपप्रधानपञ्च र गाविस अध्यक्ष भएकाबेला गाउँमा ५२ वटा बोरिङ पम्पिङसेट आफूले सिँचाइ प्रयोजनका लागि किसानलाई उपलब्ध गराएकै कारण राजनीतिक वातावरण बनेको दाबी गर्नुभयो ।
राजनीतिक स्थायित्व नभएकै कारण चाहेकोजस्तो विकास र परिवर्तन हुन नसकेको भए पनि मुलुकमा लोकतान्त्तिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि विकासले गति लिएको उहाँको बुझाइ छ । विकासको अर्को बाधक अनियमित्ता र भ्रष्टाचार भएको बताउँदै उहाँले तीनै तहमा सुशासन कायम गर्न नसके चाहेजस्तो विकास गर्न नसकिने बताउनुभयो ।
नेकपा (एमाले) को तर्फबाट सिराहाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद गङ्गाप्रसाद यादवसँग गोरखापत्र अनलाइन डट कमका नि. सम्पादक लक्की चौधरी, प्रविधितर्फ मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो अन्तरवार्ता–