• ९ मंसिर २०८१, आइतबार

लोकप्रिय बन्दै स्मार्ट शौचालय

blog

काठमाडौँ, जेठ ३० गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो ।

आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने गरी स्मार्ट शौचालयको अवधारणा ल्याइएको हो । हाल राजधानीको ललितपुर र काठमाडौँमा छवटा स्मार्ट शौचालय सञ्चालनमा छन् । 

सार्वजनिक शौचालयको सफल व्यवस्थापनकै कारण नेपालले विभिन्न राष्ट्रमा आयोजित प्रतियोगितामा सहभागी भई पुरस्कार जित्ने अवसरसमेत पाएको छ । ललितपुर महानगरपालिका, मङ्गलबजारस्थित पुरानो सार्वजनिक शौचालयको मर्मत सम्भार गरी सन् २०२० को फेब्रुअरीदेखि स्मार्ट बनाइएको थियो ।

नेपालको स्मार्ट शौचालयले दिगो विकास लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घीय विज्ञान, प्रविधि र नवप्रवर्तन मञ्च, २०२० अवार्ड जित्न सफल भएको थियोे । त्यस्तै सन् २०२१ अगस्तमा विश्व पानी महोत्सवका अवसरमा स्विडेनमा आयोजित प्रतियोगितामा शौचालय सफाइ विधामा एरोसान हब अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अन्तिम पाँचमा पुग्न सफल भएको थियो । 

एरोसान हबका कार्यकारी प्रमुख प्रकाश अमात्यका अनुसार सुरुमा शौचालय व्यवस्थापनको प्रस्ताव लिएर जाने एरोसान हबको टोलीलाई स्थानीय बासिन्दाले शौचालयका कारण वरिपरि दुर्गन्ध फैलिन्छ भन्दै व्यापक विरोध गरेका थिए । त्यहाँको सफल व्यवस्थापनपछि स्थानीय विश्वस्त भएका थिए । उहाँले शौचालयका लागि स्थानीय तहले ठाउँ मात्र उपलब्ध गराउने र लगानी तथा व्यवस्थापन एरोसान हबले गरेर रोजगारीको अवसर सिर्जना गरिरहेको बताउनुभयो ।

मङ्गलबजारको स्मार्ट शौचालय प्रयोग गरेपछि आयुषा गोलेले अनुभव सुनाउनुभयो, “यहाँको सेवासुविधा देखेरै त म छक्क परेँ । राम्रा होटल, रेस्टुरेन्टमा यस्तो शौचालय देखेको थिएँ, अब सार्वजनिक स्थानको शौचालय पनि यति व्यवस्थित बन्न थालेछ ।” पाटन मङ्गलबजार, त्रिपुरेश्वर, पाटन ढोका, नयाँ बानेश्‍वर र विष्‍णुमतीको रामघाट, स्वयम्भू बुद्ध पार्कमा आधुनिक स्मार्ट शौचालय सञ्‍चालन भइरहेको एरोसान हबले जनाएको छ ।

स्मार्ट शौचालयका विशेषता

स्मार्ट शौचालयमा प्रविधिको उपयोग बढी छ । धारा र बत्तीमा सेन्सर प्रणाली जडान गरिएको छ, त्यसैले मानिसको हातले ती साधन छुनुपर्दैन । सफा, चिटिक्क अनि स्वचालित उपकरण छन् । महिलाका लागि अति आवश्यक वस्तु प्याड भेन्डिङ मेसिन, हात धोएपछि हात सुकाउने मेसिन, प्रशस्त पानीको व्यवस्था छ । प्याड भेन्डिङ मेसिनमा दुई रुपियाँका तीनवटा सिक्का बाकसमा खसाएपछि एउटा प्याड उपलब्ध हुन्छ । त्यसैगरी प्रयोग गरिसकेको प्याडलाई व्यवस्थापन गर्न शौचालयभित्रै मेसिन राखिएको छ । शौचालय ज्येष्ठ नागरिक, महिला, पुरुष र बालबालिकामैत्री छन् । 

पानीको दिगो व्यवस्थापनका लागि सबै शौचालयको छानाबाट आकाशेपानी सङ्कलन गरिएको छ । शौचालयबाट निस्कने मलमूत्र ढलमा नपठाई बायोग्यास बनाउन प्रयोग हुन्छ । उक्त इन्धनको प्रयोग गरी चिया पकाउने, खाजा नास्ता बनाउने व्यवस्थासमेत गरिएको छ । 

शौचालयको आकार र स्थान हेरेर निर्माणको लागत न्यूनतम ३५ लाख रुपियाँदेखि ५५ लाखसम्म लागेको अमात्यले बताउनुभयो । शौचालयमा २५ जना महिलाले रोजगारी पाएका छन् । त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब सुविधासहित जीवन बीमाको समेत व्यवस्था छ । 

Author

शिवा तामाङ