• १७ जेठ २०८२, शनिबार

संसदका आगामी बैठक सहज ढङ्गले सञ्चालन हुन्छन् : एमाले

blog

एमालेका प्रमुख सचेतक महेश बर्तौला शुक्रबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १६ गते । सत्तारुढ दल नेकपा (एमाले)ले संसदका आगामी बैठकहरू सहज ढङ्गले सञ्चालन हुने विश्वास लिएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारसँग कुरा गर्नुहुँदै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले संसद सुरु हुन अझै चार दिन बाँकी रहेको बताउँदै यो बिचमा विपक्षी दलहरूले छलफल गरेर संसद बैठकलाई सहज ढङ्गले लैजाने वातावरण बनाउने विषयमा विश्वास गर्न सकिने जानकारी दिनुभयो ।

प्रमुख सचेतक बर्तौला कर्मचारीको विषयलाई लिएर संसदीय गतिविधिहरू अवरोध गर्ने विषयले गलत सन्देश जाने विषय प्रतिपक्षीले बुझ्ने भरोसा लिएको बताउनुभयो । उहाँले यस्ता गतिविधिहरूले राजनीतिक नजिरहरू बस्न सक्ने बताउँदै चार दिनको बिचको समयमा विपक्षीहरूले समीक्षा गर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,  “आज १६ गते भयो, अझै चार दिन समय छ । उहाँहरूको पनि थप छलफल होला, उहाँहरूले पनि विषयवस्तु बुझ्नुहोला, हतारमा सामान्य एउटा कर्मचारीको विषयलाई लिएर यसरी आन्दोलन गर्ने कुरा यो प्रणालीमाथि, यो संसदीय व्यवस्थामाथि, संसदीय गतिविधिहरूलाई यसरी अवरोध गर्ने कुराले गलत दिशातर्फ जान सक्छ, गलत राजनीतिक नजिरहरू बस्न सक्छ, भन्ने कुरामा यो चार दिनको बिचको समयमा उहाँहरूले समीक्षा गर्नुहुनेछ । २० गतेदेखिको बैठकलाई सहज ढङ्गले लैजानका लागि उहाँहरूले वातावरण बनाउनुहुनेछ भन्ने त्यो भरोसा, विश्वास गर्न सकिन्छ ।” 

प्रतिपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र छानविन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने र संसद चल्न नदिने बताउँदै आएका छन् ।