चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १६ गते। ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन्। बर्खायाममा वजनदार ट्रक वा ट्रयाक्टरमार्फत गोलिया काठ निकासी गर्दा ग्रामीण सडक क्षतिग्रस्त हुनेभन्दै स्थानीय तहले निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध (रोक) लगाउन थालेका हुन्।
सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले जेठ १५ गतेदेखि आगामी भदौ मसान्तसम्म गोलिया निकासी गर्न प्रतिबन्ध लगाएको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्नुहुँदै वर्षात्को समयमा हुनसक्ने बाढी पहिरोको जोखिम तथा मोटरबाटो क्षतिलाई न्युनीकरण गर्न गोलिया निकासीमा प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ।
नगर कार्यपालिकाको निर्णयअनुसार मुख्य सडकबाहेक नगरपालिकाभित्रका ग्रामीण तथा कृषि सडकमा आगामी भदौ मसान्तसम्म गोलिया काठ निकासी, ओसारपसार र ढुवानी गर्नमा प्रतिबन्ध गरिएको पौडेलले सूचनामा उल्लेख गर्नुभएको छ। यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि जेठ १८ गतेपछि बर्खायामभर गोलिया ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।
गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले गोलिया ढुवानी गर्दा कच्ची अवस्थामा रहेका ग्रामीण सडक बिग्रने, भत्किने, खाल्डो पर्ने र पहिरो जानेजस्ता समस्या आउने भएकाले काठ निकासी तथा ढुवानी गर्न प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिकाले पनि आउँदो असार १ गतेदेखि गोलिया काठ निकासी तथा ढुवानी गर्न प्रतिवन्ध गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमद्वारा जारी सूचनाअनुसार ग्रामीण सडकहरु क्षतिग्रस्त हुने अवस्थालाई दृष्टिगत गरी गोलिया निकासीमा प्रतिवन्ध लगाइएको हो।
गाउँपालिकाले गोलिया निकासी तथा ढुवानी गर्नैपर्ने भए सम्बन्धित व्यवसायी वा गोलिया निकासी गर्ने व्यक्तिलाई जेठ मसान्त सम्ममा निकासी गरी सक्नका लागि समय पनि उपलब्ध गराएको छ। असार १ गतेदेखि भने अर्को सूचना नहुँदा सम्मका लागि गोलिया काठ निकासीमा पूर्ण प्रतिवन्ध लगाएको गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ।
ताप्लेजुङमा ग्रामीण तथा कृषि सडकहरु प्राय, कच्ची छन्। कच्ची अवस्थाका सडकमा बर्खायाममा वजनदार ट्रक तथा ट्रयाक्टरहरु सडक क्षतिग्रस्त भई यातायात सञ्चालनमा अवरोध पुग्ने हुँदा स्थानीय तहहरुले बर्खा मौसममा गोलिया ओसारपसार गर्न प्रतिवन्ध लगाउने गरेका छन्। नौवटा स्थानीय रहेको जिल्लामा अन्य पालिकाले पनि गोलिया काठ ओसारपसार गर्न प्रतिवन्ध लगाउने तयारी गरिरहेका बुझिएको छ।