• १७ जेठ २०८२, शनिबार

खार्पुमा बेलिब्रिज निर्माण कार्य धमाधम

blog

खार्पुमा जारी बेलिब्रिज निर्माण कार्य। तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, जेठ १६ गते। कर्णाली काेरिडोरको हुम्ला जिल्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य तीव्र पारिएको छ। बेलिब्रिज निर्माणको जिम्मा पाएको नेपाली सेनाको विकास निर्माण दलले अगामी असार मसान्तसम्म काम सम्पन गर्नेगरी काम गरिरहेको छ। 

खार्पुको बेलिब्रिजको निर्माण कार्य धमाधम भइरहेको नेपाली सेना विकास निर्माण दलका इन्जिनियर अमृत पराजुलीले बताउनुभयो। यतिबेला बेलिब्रिजको दुवैतर्फ फाउन्डेसन निर्माण गर्ने कार्य भइरहेको छ। 

पुल निर्माणका लागि आवश्यक निर्माण सामग्री सिमेन्ट र छड सबै निर्माण स्थलमा ढुवानी भएर आइसकेको बताउँदै उहाँले स्थानीय सामग्री पनि सबै जम्मा गरिएको बताउनुभयो। 

बेलिब्रिज १७० फिट लम्बाइ रहेको छ। यो पुल निर्माणका लागि ४० जना सेनाको टोली खार्पुमा बसेको छ। उहाँले असार मसान्तसम्म पुल र बोक्चे गौडादेखि याङ्चु कुनासम्मको सडकको स्तरोन्नति कार्य सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिने बताउनुभयो। 

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट खार्पुमा पुल निर्माण नभएको कारण औपचारिक रूपमा हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिन पाएको छैन। यो पुल निर्माण सम्पन्न भएपछि औपचारिक रूपमा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ।