नवराज नेपाली
बागलुङ (गलकोट) जेठ १६ गते । गलकोट नगरपालिकाको एक गेस्ट हाउसमा पुरुष मृत अवस्थामा फेला परेका छन् । पर्सा जिल्ला कालिकामाई गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय सुबोधकुमार कुसुवा शुक्रबार बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
गलकोट नगरपालिका वडा नम्बर ३ हटिया बजारमा सङ्गिता भण्डारीले सञ्चालन गर्दै आएको सुस्मिता गेस्ट हाउसको माथिल्लो १०१ नम्बरको कोठामा कुसुवा मृत अवस्थामा फेला पर्नुभएको हो ।
होटल सञ्चालिकाले दिएको जानकारी अनुसार अघिल्लो दिन साँझ होटलमा खान नखाएको र बाहिरबाट मदिरा सेवन गरेर होटलमा आएर बसेको जानकारी दिएको प्रहरीले बताएको छ ।
कुसुवा गलकोटको सनराइज बोर्डिङ स्कुलमा अध्यापन गराउने गरेको तर स्कुलमा समेत मदिरा सेवन गरेर जाने गरेको भन्दै स्कुलले केही दिन अगाडि विद्यालयबाट निकालिएका थिए ।
उहाँ होटलमा बुधबारबाट बस्दै आएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुुङले जानकारी दिएको छ ।