• १७ जेठ २०८२, शनिबार

पाँच लाख भारतीय रुपियाँसहित दुई पक्राउ

blog

सिराज खान 

नेपालगन्ज, जेठ १६ गते । पाँच लाख भारतीय रुपियाँसहित दुई जना पक्राउ परेका छन् । भारतीय नम्बरको गाडीमा भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका एक भारतीय र एक नेपालीसहित दुई जनालाई प्रहरीले नेपालगन्जको जयसपुरबाट नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले दिनुभएको जानकारी अनुसार भारतबाट जमुनाहा नाका हुँदै नेपालगन्जतर्फ आउँदै गरेकाे युपी ३२ एलबी ६३८९ नम्बरको भारतीय सुजुकी गाडीबाट पाँच लाख अवैध भारतीय रुपियाँ बरामद भएको हाे ।

उहाँले भारतको उत्तरप्रदेश लखनउ निवासी निरज चौरसियाले चलाएको सो भारतीय गाडीमा सवार दाङकाे साबिक पुरन्धरा गाविस १ बस्ने २६ वर्षीया साइना नेपाली र चौरसिया दुबैलाई भारतीय रुपियाँसहित पक्राउ गरिएको बताउनुभयो । 

गाडीबाट प्रहरीले नेपालमा प्रतिबन्धित ५०० दरका ६०० थान भारतीय रुपियाँ र २०० दरका एक हजार थान भारतीय रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । उहाँले बरामद गरिएको प्रतिबन्धित भारतीय रुपियाँसहित पक्राउ परेका दुबैलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको बताउनुभयो । 

गत केही समययता आएर नेपाल भारत सीमा लगायत विभिन्न स्थानबाट भन्सार राजस्व छलेर भित्र्याइएका अवैध सामान, लागु औषध र अन्य अवैध सामान नियन्त्रणमा लिने क्रम बढ्दै गएको छ । 

प्रहरीले सीमा नाका लगायत अवैध ओसारपसार हुने विभिन्न स्थानमा थप प्रहरी परिचालन गरेर कडाई गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।