• १७ जेठ २०८२, शनिबार

गण्डकीमा खुल्यो पुनर्स्थापना केन्द्र

blog

पोखरा ३३ मा बनेको दीर्घकालीन पुनर्स्थापना केन्द्र शुक्रबार भएको समारोहमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १६ गते । घर, परिवार तथा समाजबाट समस्या भोगेका महिला, बालकालिका, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि गण्डकी प्रदेशमा पुनर्स्थापना केन्द्र खुलेको छ । प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले पोखरा ३३ पुष्पवस्तीमा बनाएको दीर्घकालीन पुनस्थापना केन्द्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उद्घाटन गर्नुभयो । 

प्रदेश सरकारको ७० प्रतिशत र पोखरा महानगरको ३० प्रतिशत लगानीमा उक्त केन्द्र सञ्चालन हुने भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई प्राथमिकतामा राख्दै सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले यसको सञ्चालनको संयन्त्र नहुदा समस्यमा भएकोमा अब त्यो सुल्झिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पुनर्स्थापना केन्द्र सञ्चालनका लागि स्पष्ट कार्यविधि बनाइएको छ । अब सोहीअनुसार सञ्चालन हुने छ ।” मुख्यमन्त्री पाण्डेले सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको र अब मनोसामाजिक परामर्शदाता पनि पठाइने उल्लेख गर्नुभयो ।  

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पुनर्स्थापना केन्द्र सञ्चालन महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले हिंसापीडित महिलालाई कम्तीमा ६ महिना र बढीमा दुई वर्षसम्म राख्ने व्यवस्था कार्यविधिमा छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मका सेवा दिइने बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन केन्द्र चलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, कोपिला नेपालकी विना सिलवाल, प्रदेश सांसदहरू भीम कार्की र रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल,  पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो ।