विजयकुमार साह
ढल्केबर, जेठ १६ गते । साना पाँच राजनीतिक दलले ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । जनकपुरमा एक समारोहका बिच गठबन्धनको घोषणा गरिएको हो ।
गठबन्धनमा पूर्वगृह राज्यमन्त्री मोहमद रिजवान अन्सारीको नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहास जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी नेतृत्वको नेपाल जनजागृति पार्टी छन् ।
घोषणा समारोहमा पूर्वगृह राज्यमन्त्री अन्सारीले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेकोसमेत आरोप लगाउनुभयो । यी नेताहरू सहिदको बलिदानीलाई सत्तासँग साट्ने काम गर्दै आएको बताउनुभयो । अन्सारीले कथित मधेशी नेताहरू सत्ता समर्पण र मुद्दा विसर्जनको पथमा गएकोसमेत टिप्पणी गर्नुभयो ।
यसैगरी, समारोहमा नेपाल सद्भावना पार्टीका अध्यक्ष महतोले गणतन्त्र आएको लामो समय बित्दासमेत शोषित पीडित समुदायले वास्तविक गणतन्त्र महसुस गर्न नसकेकाले यो गठबन्धन घोषणा गरिएको बताउनुभयो । जातिवादी र सामन्तवादी व्यवस्थाको अन्त्य गर्न गठबन्धन बनाउनु परेको बताउँदै उहाँले दलित तथा उत्पीडितमाथि हुने हत्या, हिंसा, बलात्कारलगायत अपराधविरुद्ध सङ्घर्ष गर्न गठबन्धनको उद्देश्य रहेको उहाँले जानकारी गराउनुभयो ।
त्यसैगरी, इतिहासिक जनता पार्टीका अध्यक्ष ठाकुरले मधेशी समुदायको दुश्मन राजसंस्था भएको बताउँदै मधेशी समुदायसँग गद्दार गरिरहेकविरुद्ध गठबन्धन उत्रिने चेतावनी दिनुभयो ।