• १७ जेठ २०८२, शनिबार

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्रीको सम्मान

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गर्नुहुँदे । तस्बिर : मन्त्री पौडेलको सचिवालय

काठमाडौँ, जेठ १६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गर्नुभएको छ । 

शुक्रबार मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन गर्नुभयो । 

‘‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ ।,’’ मन्त्री पौडेलले भन्नुभयो ‘‘तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवर्धन दूतका रूपमा नियुक्त गर्ने छ ।

मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्नुहुँदै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास गर्नुभयो ।

‘‘मष्तिष्क मृत्युपछि अङ्गदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले अङ्ग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ ।’’

स्वास्थ्य मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरूको स्वास्थ्य बिमा नभएको भन्दै उनीहरुको बिमाका लागि पहल गर्ने घोषणा समेत गर्नुभयो ।

आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाउनुभयो ।

‘‘मैले मिर्गौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ ।,’’ उहाँले भन्नुभयो, ‘‘आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरें ।’’

वैदेशिक रोजगारीका क्रममा किड्नी फेल भएको पत्ता लागे पछि स्वदेश फर्किएका शेर्पाले तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।

सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गर्नुभएको हो । 

३७ वर्षीय शेर्पाले स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सुधारमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । ‘‘उहाँले राम्रो काम गरिरहनुभएको छ ।,’’ उहाँले भन्नुभयो  ।