टोपलाल अर्याल
रेसुङ्गा, जेठ १६ गते । गुल्मीको आँपचौर कफीको जजनी हो । आँपचौरमा स्थापना भएको कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने गरेको छ । मुसिकोट नगरपालिका–५ आँपचौरमा कफी विकास केन्द्र नेपाल सरकारको सङ्घीय बागवानी तथा राष्ट्रिय बिउ बेर्नाको श्रोतकेन्द्र हो।
यो केन्द्र तत्कालिन राजा विरेन्द्रले विसं. २०४१ सालमा स्थापना गर्नुभएको थियो । नेपालभर कफीको क्षेत्रमा काम गरिरहेको केन्द्रमा अहिले कफीका बिरुवाको माग दुई लाख रहेको छ ।
कफी विकास केन्द्रमा अहिले करिब ७० हजार कफीका बिरुवा रहेका छन् । अहिले प्रति बिरुवा ४० रुपियाँमा बिक्री हुँदै आएको छ । कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यका अनुसार गुल्मीसहित धादिङ, कास्की, स्याङ्जा, लमजुङ अर्घाखाँचीसहितका ४०-४५ जिल्लामा कफीका बिरुवाको माग हुने गरेको छ । केन्द्रको मुख्य उदेश्य देशभरका कफी किसान र प्राविधिकलाई तालिम, समस्यामा सहजीकरण, कार्यमुखी अनुसन्धान र नीति निर्माणमा सरकारलाई कफीको सम्बन्धी सुझाव दिने रहेको आचार्यले जानकारी दिनुभयो ।
कफी विकास केन्द्रले कफीको सिजन अनुसार ४०÷५० जनालाई रोजगारी दिने गरेको छ । बगैंचा व्यवस्थापन, बिउ उमार्ने, टिप्ने र प्रशोधन लगायतका काम श्रमिकले गर्ने गर्दछन् । केन्द्रमा कफी पल्पिङ मेसिन, कफि हलर मेसिन, कफि ड्रयार, रोस्टर मेसिन र कफी स्प्रे सो मेसिन छन् ।
केन्द्रले आँपचौरमै १८४ रोपनी जग्गा खरिद गरेरक करिब १२ हजार कफीका बिरुवा रोपेको छ । कफीको जननी आँपचौरमा देख्न लायक कफी बगैँचा विस्तार गर्ने उदेश्य रहेको आचार्यले बताउनुभयो । अहिले छ वटा नर्सरीमा करिब ६० हजार कफीका बिरुवा रोपिएको छ । केन्द्रका प्रमुख आचार्यका अनुसार किसान र केन्द्रको प्रमुख चुनौति सेतो गवारो हो । रोपिएका बिरुवाको करिब १५ प्रतिशत सेतो गवारोका कारण नष्ट हुने स्थिती रहेको आचार्यले बताउनुभयो ।