बोमलाल गिरी
नवलपुर, जेठ १६ गते । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध नारायणघाट–बुटबल सडक साढे सात घण्टासम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले खोलामा पानीको सतह नघटेकाले नयाँ डाइभर्सन निर्माण हुन नसकेको जानकारी दिनुभयो ।
प्रमुख प्रहरी उपरीक्षक ढकालले डाइभर्सनका लागि सडक विभागको टोली घटनास्थलमा पुगेको भए पनि सडक सञ्चालनमा ल्याउन दिनभरी लाग्न सक्ने बताएको जाकारी दिनुभयो ।
उहाँले शुक्रबार दिउँसो १२ बजेदेखि साना तथा हलुका सवारी साधनलाई भने ११, १२ किलोमिटर उत्तरतर्फ दुम्कीबास–कोल्टाडी–सर्दी हुँदै होङ्सी गेट र होङ्सी गेट–कोल्टाडी–सर्दी हुँदै दुम्कीवास दुवै तर्फबाट पास गराइएको बताउनुभयो ।
वर्षासँगै आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघट–बुटबल सडक बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको हो ।
बाढीले चोरमाराको डाइभर्सन पनि बगाएको थियो भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्सानी खोलाको सडकमा पनि क्षति पुर्याएको थियो । यी दुबै स्थानमा भने एकतर्फी सवारी साधन सञ्चालन भइरहेका छन् ।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुल र वैशाख २९ गते होङ्सी सिमेन्टको १८ चक्के टेलर हिँड्दै गर्दा पुल भाचिएको थियो । पुल भाचिएपछि डाइभर्सनमार्फत गाडी आवत जावत गराउने गरिएको थियो ।