• १७ जेठ २०८२, शनिबार

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला

blog

कोशी बराजमा भेटीएको ‘लालकण्ठे फालारोप’ पानी चरा । तस्बिर : चराविद्ध अनिश तिम्सीना

बाबुराम कार्की 

वराहक्षेत्र, जेठ १६ गते । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ प्रजातिको पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको हो । 

नेपालमा सन् १९८२ मा रारा राष्ट्रिय निकुञ्जको रारा लेकमा पहिलोपटक विदेशी नागरिकले नेपालमा अभिलेख गरिएको ‘लालकण्ठे फालारोप’  चरा सन् २००८ मा से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको फोक्सुण्डो लेकमा दोस्रो पटक २६ वर्षपछाडि विदेशी नागरिकले नै अभिलेख गरिएको चराविद् अनिष तिम्सिना बताउनुहुन्छ ।

तेस्रो पटक कोशी टप्पुमा विसं. २०८२ साल जेठ १५ गते विहान ११ बजेर ३० मिनेटको समयमा कोसी बरेज क्षेत्रमा ‘लालकण्ठे फालारोप’  चराको रेकड गरिएको छ । नदी क्षेत्रमा विचरण गर्दै गरेको अवस्थामा चराविद् अनिष तिम्सिनाले नेपालमा तेस्रो पटक ‘लालकण्ठे फालारोप’ चरा कोशी टप्पुको वराज क्षेत्रमा अभिलेख गर्नुभएको हो । 

चराविद् तिम्सिनाले सप्तकोसी नदीको पानीमा ३० मिनेटसम्म विचरण गरिरहेको अवस्थामा चराको रेकर्ड गर्नुभएको जनाइएको छ । चराविद् तिम्सिनासहित उहाँका सहयोगी सुमन आचार्य, गुलाबी मुखिया, लभ केसी र सुरेश साहीले अवलोकन गर्नुभएको थियो । 

नेपालबाट हवाइ मार्गको प्रयोग गरेर साइबेरियाको माथिल्लो क्षेत्रमा बच्चा कोरल्न पुग्ने लालकण्ठे फालारोप नेपालमा दुर्लभै मात्रामा भेट्न सकिने बरिष्ठ चराविद् डाक्टर हेमसागर बराल बताउनुहुन्छ । चराविद् डाक्टर बरालका अनुसार अन्य देशहरुमा ठुलै सङ्ख्यामा रहेका यी चरा नेपालमा भने दुर्लभ मानिन्छन् । नेपालमा भइरहेको वर्षाका कारण बसाइ सराइका क्रममा हवाइ मार्गको प्रयोग गरेर उडेका चरा दिशा पत्ता लगाउन नसकी बास बस्नका लागि नेपालको सिम क्षेत्रमा देखापरेको हुन सक्ने उहाँको भनाइ छ । 

युरोप, एसिया, अमेरिका, क्यानडाको उत्तरी भागको आलस्का, ग्रिनल्याणम बच्चा कोरल्ने गरेको लालकण्ठे फालारोप चरा दक्षिण अमेरिका, भारतको पूर्वी तटीय क्षेत्र, अष्ट्रेलियाको पपुवा न्युगिनीमा बसोबास गर्ने गरेको चराविद् डाक्टर बराल बताउनुहुन्छ । सुड्सिडिया जलङ्क टाहा प्रजातिमा पर्ने लालकण्ठे फालारोप पानीमा चर्ने, तैरने पानी चराको रुपमा रहेको छ । 

कोशी टप्पुमा चराको वासस्थान साघुँरिदै जादा चराको सङ्ख्या घट्दै गएपनि आरक्ष क्षेत्रमा चराको प्रजातिको संख्या भने बढ्दै गएको वरिष्ठ चरा विद्ध डाक्टर हेमसागार बराल बताउनुहुन्छ ।