• १७ जेठ २०८२, शनिबार

गण्डकीमा सार्वजनिक यातयात ठप्प

blog

सन्तोष सुवेदी

कास्की, जेठ १६ गते । गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा शुक्रबारदेखि ठप्प पारिएको छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनीरूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि यसको विरोधस्वरूप यातायात व्यवसायीहरूले सवारी साधन घर ग्यारेजमा थन्काएर विरोध जनाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीहरूले आन्दोलन थालेका छन् । उनीहरूले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने आशङ्का व्यक्त गर्दै निर्णय फिर्ता लिन दवाव दिइरहेका छन् ।

यस विरोधका कारण आज बिहानैदेखि गण्डकीमा ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा अवरुद्ध छन् । यसका कारण पर्यटकीय नगरी पोखरासहित विभिन्न स्थानका सडकहरू बिहानैदेखि सुनसान छन् । महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले सरकार आफ्नो निर्णयबाट पछि नहटेसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । व्यवसायीहरू १६ गतेदेखि गण्डकीभित्र र १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने चेतावनी दिइरहेका छन् ।

प्रदेश सरकारले गत वैशाख ३० गते मन्त्रिपरिषदबाट पास गरेर राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा व्यवस्थापनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरेको थियो । यातायात व्यवस्था ऐन २०४९ अनुसार, निजी सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने व्यवस्था थियो । तर २०८१ असार १३ गते सर्वोच्च अदालतले सवै सवारी साधनलाई कानुनीरूपमा सेवा सञ्चालन गर्न सक्ने बाटो खोल्दै पुराना प्रावधानहरू खारेज गरेपछि सरकारले नियमावली ल्याएको हो । 

नयाँ नियमावलीअनुसार अनलाइन प्रणाली प्रयोग गरी निजी तथा सार्वजनिक दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनमार्फत यातायात सेवा दिन अब अनिवार्य अनुमति तथा नवीकरण आवश्यक हुने भएको छ।