चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १६ गते । ताप्लेजुङमा २४ हजार बढी कृषक परिवार कृषि कर्ममा आबद्ध छन् । नौ वटा स्थानीय रहेको जिल्लामा कुल २४ हजार ३२ परिवार कृषि कर्म (पेसा) मा आबद्ध रहेका पाइएको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्क अनुसार सबैभन्दा बढी सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा तथा सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा कृषक परिवार देखिएका छन् । कृषिमा आबद्ध कुल कृषकमध्ये फुङ्लिङ नगरपालिकामा चार हजार ३०३ परिवार रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा एक हजार ७०३ कृषक परिवार रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार सिरिजङ्घा गाउँपालिकामा तीन हजार पाँच कृषक परिवार रहेका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा दुई हजार ७७३ परिवार, आठराई त्रिवेणी गाउँपालिमामा दुई हजार ७३३ र पाथीभरा याङ्वरक गाउँपालिकामा दुई हजार ५५४ कृषक परिवार छन् । मेरिङ्देन गाउँपालिकामा दुई हजार ४३३, सिदिङ्वा गाउँपालिकामा दुई हजार ३८३ र मैवाखोला गाउँपालिकामा दुई हजार १३५ कृषक परिवार रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।
यता ताप्लेजुङका कृषक परिवारले भोगचलन गरेको जग्गाको कुल क्षेत्रफल २० हजार २८४.८ हेक्टर रहेकोसमेत २०७८ सालको जनगणना प्रतिवेदनबाट देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि क्षेत्रमा उपयोग भएको जग्गामा सिँचाइ सुविधा उपलब्धताको हिसाबले सिरिजङ्घामा सबैभन्दा बढी र मेरिङ्देन गाउँपालिकामा सबैभन्दा कम रहेको छ । भोगचलनमा रहेको कुल क्षेत्रफलमध्ये आठ हजार २०५.८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पर्याप्त रहेको पनि कृषि ज्ञान केन्द्रका तथ्याङ्कमा उल्लेख गरिएको छ ।