• १७ जेठ २०८२, शनिबार

मातृभाषा पढाइ प्रवाहका लागि शिक्षक तालिम

blog

नवराज श्रेष्ठ

रामेछाप, जेठ १६ गते । रामेछाप सदरमुकाम मन्थलीमा लोप हुने अवस्थामा पुगिसकेको माझी भाषाको संरक्षण तथा लिखित रूपमा प्रवर्धन गर्ने उद्देश्यले “शिक्षक तालिम कार्यक्रम“ शुक्रबारबाट सुरु भएको छ । 

जेठ १८ गतेसम्म सञ्चालन हुने तालिममा मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका १० जना माझी भाषा शिक्षकहरूको सहभागिता रहेको छ । 

माझी भाषा पढाइ प्रवाह कक्षाका लागि आयोजना गरिएको यो तालिमले माझी भाषामा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने र भाषा संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजक मझे साबा रामेछापका संयोजक श्रीबहादुर माझीले बताउनुभयो । 

उहाँले भन्नुभयो “माझी भाषा लोप हुने अवस्थामा पुगिसकेको छ । धेरै माझीहरूले नेपालीसहित अङ्ग्रेजी बोल्छन् । भाषा बोल्नेहरूलाई पनि लेख्न आउँदैन । त्यसैले हाम्रो भाषाको लिखित रूपमा नै प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । यही कुरालाई ध्यानमा राखेर यो तालिम आयोजना गरिएको हो ।” 

तालिम मझे साबा रामेछापको आयोजनामा र हिमाली आदिवासी समाज, काठमाडौँको सहकार्यमा सञ्चालन भएको हो ।