तनहुँ समाचारदाता
तनहुँ, जेठ १६ गते । बन्दीपुर गाउँपालिका–२ का रोजन बानियाँलाई राष्ट्रिय परिचयपत्र बनाउन दुई दिन लाग्यो । सेवाग्राहीको भिड धेरै हुँदा पालो कुर्नुपर्ने बाध्यता भएकाले मङ्गलबार काम पूरा नहुँदा बानियाँलाई बुधबार फेरि घरबाट कार्यालयसम्म आउनुपर्यो । एकै दिनमा र छिटो काम नहुँदा आर्थिक रूपमा पनि भार धेरै परेको गुनासो बानियाँले गर्नुभयो । बानियाँले भन्नुभयो, “एक दिनमा काम पूरा नहुँदा आवतजावतमा एक हजार रुपियाँभन्दा बढी खर्च भयो ।” जिल्लामा डुम्रे तथा दुलेगौँडा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गरेर सेवा प्रवाह सहज बनाउनुपर्ने बानियाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदा बानियाँ जस्तै अन्यलाई सेवा लिन सास्ती भएको छ । कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएको छ । कर्मचारी अभावले गर्दा काम ढिलो हुने गरेकाले कार्यालय परिसर सेवाग्राहीको भिडले भरिने गरेको छ । छिटो र छरितो रूपमा काम नहुँदा कार्यालयमा सधैँ भिड हुने गरे पनि समाधानमा भने ध्यान पुगेको छैन । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भिड लाग्ने गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सेवाग्राहीको भिड लागे पनि जनशक्ति कम हुँदा घण्टौँ पालो कुर्नुपर्ने बाध्यता छ । इलाका प्रशासन कार्यालय नहुनु र बर्सौं अगाडि कायम गरिएको दरबन्दी वृद्धि गरेर सेवा सहज बनाउनुपर्नेमा दरबन्दी अनुसारको कर्मचारी लामो समयदेखि नहुँदा समस्या परेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनुभयो ।
इलाका प्रशासन कार्यालय नहुँदा जिल्ला प्रशासनमा सेवाग्राहीको भिड लागेको छ भने सेवाग्राही टाढादेखि धाउनुपरेको उहाँले बताउनुभयो । इलाका प्रशासन कार्यालय नहुँदा सेवाग्राहीको दिनहुँ भिड लाग्ने गरेकाले छिटो र छरितो सेवा प्रदान गर्न समस्या परेको अधिकारीले बताउनुभयो । सेवाग्राहीको भिड लाग्ने जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गरिएकाले तनहुँमा पनि सेवा लिनेको चाप धेरै भएकाले दुई वटा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
अधिकारीले भन्नुभयो, “तनहुँभन्दा धेरै जनसङ्ख्या भएको नुवाकोटमा इलाका प्रशासन कार्यालय छ तर यहाँ नहुँदा समस्या परेको हो ।” दरबन्दी अनुसारको कर्मचारी नभएकाले सेवा दिन कठिन भएको छ । शाखा अधिकृत, कम्प्युटर अपरेटर र हल्का सवारीचालक गरी तीन जना कर्मचारी दरबन्दी अनुसारको छैन । तीन जना भने अस्थायी करारमा राखिएको छ । एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको भए पनि सुनुवाइ भएको छैन । कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृह मन्त्रालयमा जानकारी गराइएपछि हालसम्म सुनुवाइ भएको छैन । पहिलेको जनसङ्ख्या अनुसार दरबन्दी कायम भए पनि अहिले जनसङ्ख्या बढेर झन्डै दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाइ प्रजिअ अधिकारी बताउनुहुन्छ ।
अधिकारीका अनुसार तनहुँमा राष्ट्रिय जनगणना–२०७८ अनुसार तीन लाख २१ जनसङ्ख्या छ । प्रजिअ अधिकारीले भन्नुभयो, “इलाका प्रशासन हुने भने चाप कम हुने भएकाले यही जनशक्तिले काम गर्न सकिन्छ, नत्र भने हालको भन्दा दोब्बर पार्न आवश्यक छ ।” जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, सङ्घ संस्था दर्ता, नवीकरण, पेन्सनसम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपि जस्ता कामका लागि दैनिक करिब चार सयभन्दा बढी सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भिमादमा स्थापना भए घिरिङ, ऋषिङ, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका सेवाग्राही सहज हुने र डुम्रेमा स्थापना भए भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिका सेवाग्राहीलाई सेवा दिन सहज हुने छ । दुई जना प्रशासकीय अधिकृत रहेकोमा तीन महिनाअघि सरुवा भई एक जनाको खाली हुँदा काम धेरै गर्नुपर्दा तनाव हुने गरेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।