• १७ जेठ २०८२, शनिबार

सरकारी कार्यालय नै छैनन् अपाङ्गतामैत्री

blog

भर्खरै निर्माण सम्पन्न भएको फिक्कल गाउँपालिकाको अपाङ्गतामैत्रीविहीन प्रशासकीय भवन ।

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ १६ गते । सिन्धुली जिल्लामा स्थानीय तहका भवन तथा सरकारी कार्यालय अपाङ्गतामैत्री नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । राज्यले सरकारी तथा सार्वजनिक स्थल, भवन तथा कार्यालय अपाङ्गतामैत्री हुनुपर्ने घोषणा गरेको एक दशक बिते पनि कार्यान्वयन नहुँदा अपाङ्गता भएका सेवाग्राहीले सास्ती बेहोर्नुपरेको हो । जिल्लामा रहेका सरकारी कार्यालयका पुराना भवन अपाङ्गतामैत्री नभइरहेका बेला निर्माण हुँदै गरेका नयाँ भवनमा समेत उक्त सुविधा नभएको सरोकारवालाले गुनासो गरेका छन् । 

उनीहरूका अनुसार गाउँका सिंहदरबार भनेर चिनिने स्थानीय तहले समेत आफ्ना कार्यालय भवन अपाङ्गतामैत्री निर्माण गरेका छैनन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटाले आलिसान भवन निर्माण गरिसकेका छन् । गोलन्जोर र घ्याङ्लेख गाउँपालिकाले धमाधम आफ्नो प्रशासकीय भवन बनाइरहे पनि ती भवन पनि अपाङ्गतामैत्री बनेका छैनन् ।

ह्विलचियरको सहायताले हिँड्डुल गर्दै आउनुभएका तीनपाटन गाउँपालिका–१, बेलघारी निवासी श्याम आलेमगर आफूले जेठ ६ गतेदेखि स्नातक चौथो वर्षको परीक्षा दिँदै आएको र परीक्षा केन्द्र रहेको सिन्धुली बहुमुखी क्याम्पसको भवन आपाङ्गतामैत्री नहुँदा साह्रै सकस भएको बताउनुभयो । “परीक्षा दिने हलमा साथीहरूले बोकेर पु¥याइदिने र ल्याइदिने गरेका छन्,” उहाँले भन्नुभयो, “परीक्षा हलमा न ह्विलचियर लान सकिन्छ, न बैसाखीकै भरमा उक्लिन सकिन्छ ।” सरकारले विसं २०६० मा अपाङ्गतामैत्री भवन निर्माण आचारसंहिता जारी गरेको थियो भने २०६९ मा ‘भौतिक संरचना र सञ्चार निर्देशिका’ बनेको हो । आचारसंहिता र निर्देशिकामा त्यसपछि बन्ने सरकारी तथा सार्वजनिक भवनमा ढोका, भ¥याङ, शौचालय तथा सेवासुविधा प्रदान गर्ने स्थल अनिवार्य रूपमा अपाङ्गतामैत्री हुनुपर्ने व्यवस्था छ । आचारसंहिता जारी भएयता मात्रै जिल्लामा एक दर्जनभन्दा बढी सरकारी भवन बनिसकेका छन् । “ती भवन कुनैमा पनि यस्तो व्यवस्था छैन्,” राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ सिन्धुलीकी अध्यक्ष दीपा देवकोटाले भन्नुभयो, “उक्त आचारसंहिता जारी भएपछि निर्माण भएका सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालय तथा अन्य निकायका भवनसमेत अपाङ्गतामैत्री बन्न सकेनन् ।” 

जिल्लामा निर्माण भइरहेका स्थानीय तहका भवन र अन्य सरकारी कार्यालयका भवन पनि अपाङ्गतामैत्री नभएको उहाँको गुनासो छ । त्यस्तै जिल्ला अपाङ्ग सङ्घ सिन्धुलीकी अध्यक्ष बबिता थापा पनि सम्बन्धित निकायमा अपाङ्गतामैत्री भवन निर्माणका लागि ध्यानाकर्षणपत्र र ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएको बताउनुहुन्छ । उहाँका अनुसार जिल्लामा छ हजारभन्दा बढी सङ्ख्यामा अपाङ्गता भएका छन् । यस्तालाई नागरिकता तथा अपाङ्गताको परिचयपत्र बनाउन पनि त्यस्ता कार्यालय नगई हुँदैन । यस्ता कार्यालय भवनमा सहजै ह्विलचियर पस्ने कुनै पनि ढोका र भ¥याङ छैनन् ।