• १७ जेठ २०८२, शनिबार

मनसुनी वर्षासँगै पूर्वतयारी

blog

नेपाल कृषिप्रधान देश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यो देशमा पर्याप्त सिँचाइ सुविधाको कमीले मनसुनमा आधारित खेती गर्नुपर्ने बाध्यता छ । हिउँदमा कम वर्षा र बर्खायाममा बढी वर्षा हुने गर्छ । हिउँदमा पश्चिमी वायुले र बर्खामा पूर्वी वायुले वर्षा गराउँछ । सन्तुलित वर्षा भयो भने खेतीपाती राम्रो हुनुका साथै पर्यावरणसमेत स्वच्छ र सफा हुन्छ तर पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण पर्याचक्र असन्तुलित बन्दा मनसुनजन्य विपत्बाट धेरै जनधनको क्षति हुन थालेको छ । यस वर्षको मनसुन साबिकभन्दा करिब दुई साताअगावै नेपाल भित्रिँदै छ । प्री मनसुनले मनसुन भित्रिनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रिन लागेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको न्यून चापीय प्रणालीको प्रवेश भइसकेको छ । त्यस्तै बङ्गलादेश र भुटानका पूर्वी भेगमा मनसुन फैलिसकेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । भूउपग्रह, वायुमण्डलीय र मौसम मोडेलबाट प्राप्त सूचना अनुसार पनि नेपालमा मनसुन भित्रिन लागेको महाशाखाले प्रस्ट पारेको छ । यस वर्षको मनसुनमा देशव्यापी रूपमा विगतको भन्दा अधिक वर्षा हुने प्रक्षेपण गरिएको छ । सरकार र सम्बन्धित निकाय मनसुनजन्य विपत्बाट जोगिन पूर्वतयारी र प्रतिकार्यमा जुटिसकेका छन् । आमजनता पनि विपत्बाट जोगिन सचेत हुन जरुरी छ । 

यस वर्षको बर्खायाममा अधिक वर्षा हुने र पहिलेभन्दा बढी जनधनको क्षति हुन सक्ने पूर्वानुमान गरिएको छ । सरकारका तर्फबाट राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ ले देशभरका चार लाख ५७ हजार घरपरिवारका करिब २० लाख मानिस बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले यस पटकको कार्ययोजना पारित गरिसकेको छ । काठमाडौँ उपत्यकाबाट पानी बाहिरिने एक मात्र बाटो चोभार गल्छी साँघुरो हुँदा गत वर्ष भीषण वर्षा भएसँगै काठमाडौँ उपत्यकामा ठुलो क्षति भएको थियो । मुख्यतः नक्खु, कुलेश्वर, थापाथली, बल्खुलगायतका भूभाग डुबानमा परेका थिए । त्यहाँ फेरि क्षति हुन नदिन चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । बैठकले आपत्कालीन गोदामघर सञ्चालन कार्यविधि–२०८१ (प्रथम संशोधन) सम्बन्धी प्रस्ताव पारित गरेको छ । विपत्सँग जुध्न उच्च पूर्वतयारीमा प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत सबै निकाय जुटेका छन् । मनसुनी विपत्सँग जुध्न गत वर्षको कमीकमजोरी सुधार्दै थप गहन तयारीमा सरकार जुटेको छ । गत वर्ष पनि अधिक वर्षा हुने पूर्वानुमान गरिए पनि समयमा उद्धार गर्न कठिनाइ भएको थियो । यस पटक प्रत्येक वडामा २५ जना स्वयंसेवी मनसुनअगावै विपत् उद्धारका लागि तयार गरिँदै छ । त्यसको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ । नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग पनि विपत्का बेला सहकार्य भइरहेको छ । त्यस्तै उद्धारका लागि आवश्यक डुङ्गा, बोट, डोरीलगायतका सामग्री गत वर्ष नपुग भएकाले यस पटक अन्य निजी क्षेत्रसँग सहकार्य गरेर तैनाथ राखिने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो क्षमताले भ्याएसम्मको मनसुनी पूर्वसूचना दिइरहेको छ । 

भौगोलिक स्थिति, भूधरातलीय बनावट र विविध मौसमी अवस्थाका कारण नेपाल बाढी, पहिरो, डुबान, चट्याङ, आगलागी जस्ता विपत्जन्य घटनाको उच्च जोखिममा रहेको छ । करिब ८० प्रतिशत नेपाली जनता कुनै न कुनै किसिमको विपत्को उच्च जोखिमको अवस्थामा जिउन बाध्य रहेको तथ्याङ्क छ । नेपालमा चैतदेखि भदौसम्म ग्रीष्मकालीन र असोजदेखि फागुनसम्म शीतकालीन मनसुनी अवस्था रहने गर्छ । हिन्द महासागरमा विकास भई बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने मनसुनी वायुका कारण सामान्यतया जेठको अन्त्यदेखि असोजसम्म निरन्तर वर्षा हुने गर्छ । नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा मनसुनी वर्षाको रूपमा यही अवधिमा हुने गर्छ । छोटो अवधिमा निरन्तर र ठुलो मात्रामा वर्षा हुँदा यसले विपत्को रूप लिने अवस्था छ । त्यसै गरी असोजदेखि चैतसम्म अरब सागरमा विकास भई नेपाल प्रवेश गर्ने मनसुनी वायुले हिउँदे वर्षा गराउँछ । हिउँदे वर्षा राम्रो भयो भने हिउँदे बाली र बर्खे वर्षा राम्रो भयो भने बर्खे बाली राम्रो हुने गर्छ । अतः सन्तुलित वर्षाको आशा गर्दै सबै जना पूर्वतयारीका साथ सचेत हुन जरुरी छ ।