रामकृष्ण बोहरा
बागलुङ, जेठ १५ गते । दोस्रो आदर्श कप एसइई स्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि बाङेचौर खेलमैदानमा सुरु भएको छ ।
आदर्श विद्यामन्दिर खेलकुद क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह–आयोजनामा बिहिबारदेखि शुरु भएको प्रतियोगिता २१ गतेसम्म चल्ने छ ।
पहिलो दिन भएको उद्घाटन खेलमा छात्रतर्फ फ्युचर ब्राइटर बोर्डिङ स्कुललाई ट्राइबेकरमा पराजित गर्दै गरिमा आवासिय माध्यमिक विद्यालयले बिजयी शुरुवात गरेको छ ।
१८ औँ मिनेटमा फ्युचरका निशान कार्कीले गोल गर्दै अग्रता दिलाएपनि गरिमाका अप्सन केसीले दोस्रो हाफको १०औँ मिनेटमा खेल बराबरी गरेका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा गरिमा ४–३ गोलले विजयी भएको हो । गरिमाको जितमा अप्सन केसी, गगन थापा, प्रिन्स कुँवर र चिराग रोकाले गोल गर्दा सविन थापाको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।
फ्युचर ब्राइटरका लागि निशान कार्की, भोजबहादुर नेपाली, आशिष सुनारले गोल गर्दा आयुष कुँवर र अरुण भण्डारी गोल गर्न चुक्नुभयो । गरिमाले १८ गते हुने न्यु एभरेष्ट एकेडेमी र रुद्रेपिपल माध्यमिक विद्यालयबिच हुने खेलको विजयी टोलीसंग प्रतिष्पर्धा गर्ने छ ।
यस्तै छात्रातर्फ धौलागिरि बोर्डिङ स्कुललाई पराजित गर्दै न्यु ओयसिस एकेडेमी विजयी भएको छ । ओयसिसको जितमा आयुषा आलेले खेलको इनजुरी समयमा गरेको आर्कषक गोल नै जितको आधार बन्यो । ओयसिले शुक्रबार हुने फ्युचर र रुद्रपिपल मावि बीचको खेलको विजयी टोलीसंग सेमीफाइनल खेल खेल्ने छ ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार छात्रतर्फ न्यु एभरेष्ट एकेडेमीविरुद्व रुद्रेपिपल, आयोजक एभिएम निलोविरुद्व न्यु ओयसिस र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलविरुद्व अमर आदर्श माविले खेल्ने छ भने छात्रातर्फ फ्युचरविरुद्व रुद्रेपिपल र एभिएमविरुद्व विद्यामन्दिर माविले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको छात्रतर्फको विजेता टोलीले नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
यस्तै छात्रातर्फको विजेता टोलीले ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले १५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आदर्श विद्यामन्दिर खेलकुद क्लवका अध्यक्ष राजेश केसीले जानकारा दिनुभयो ।