• १७ जेठ २०८२, शनिबार

वडा नं. ७ ले जित्यो वडाब्यापी चेस उपाधि

blog

काठमाडौँ, जेठ १५ गते । काठमाडौँ महानगरपालिका वडा नं. २२ ले सञ्चालन गरेको सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौँ वडा नं. ७ ले जितेको छ । 

संकटा मन्दिर प्राङ्गणमा सम्पन्न दुई दिने प्रतियोगितामा विजेता टिमले १३ म्याच प्वाइन्ट बनाउने क्रममा ६ जित र एक बराबर नतिजा निकालेका छन् ।  पहिलो स्थान प्राप्त गरेको टिमले उपाधिसहित ५० हजार रुपियाँ पुरस्कार पायो ।

विजेताका सिएम पुरुषोत्तम चौलागाईंले पहिलो वोर्डमा खेल्दै बद्रीलाल नेपालीसँग बराबर खेल्दै ६ जना प्रतिस्पर्धीमाथि जित निकाल्नुभयो । दोस्रो बोर्डमा सिएम भगवतीप्रसाद शर्माले महेश्वरलाल डंगोलसँग बराबर गरी अन्य ६ प्रतिस्पर्धीसित जित निकाल्नुभएको हो ।

तेस्रो वोर्डमा यु–१६ का सजल न्यौपानेले तीन जित र एक खेल बराबर खेल्दै टिमलाई महत्वपूर्ण योगदान दिनुभयो । काठमाडौँ वडा नं. २७ दोस्रो बन्दै ३५ हजार रुपियाँ पायो ।

जसमा पहिलो वोर्डका राजेन्द्र बज्राचार्यले तीन जित दुई बराबर तथा दोस्रो वोर्डमा महेश्वरलाल डंगोलले पाँच जित एक बराबर र तेस्रो वोर्डमा महिला खेलाडी बिनिता कपालीले पाँच जित निकाल्दै उपविजेताको लागि योगदान दिनुभयो । यस्तै काठमाडौँ वडा नं. २ ले तेस्रो बन्दै २५ हजार रुपियाँ पुरस्कार पायो । चौथो भएको वडा नं. १४ ले २० हजार रुपियाँ पायो । 

विजेतालाई प्रमुख अतिथि संकटा क्लबका अध्यक्ष तथा एन्फाका प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधर, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, जनप्रतिनिधि अनिल हाडा, ललिता खड्गी, गीता परियार, महासङ्घका प्रवक्ता राजु ताम्राकार, सदस्य सुशील चौधरी, रमिला पोखरेल, प्रमुख निर्णायक सोराज ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।