धर्बेन्द्र झा
जनकपुरधाम, जेठ १५ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामसहित प्रदेशको आठ वटै जिल्लाको सदरमुकाम र विभिन्न पालिकामा १८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजन गरी मनाइएको छ । कार्यक्रममा पत्रकारलाई अभिनन्दित गरिएको छ ।
अभिनन्दित हुने प्रेस स्तन्त्रता सेनानीहरुमा धनुषाका अशोक रौनियार, रामभरत साह, महोत्तरीका बिन्देश्वरी मण्डल, गोपाल बराल, ईश्वरी पोखरेल, कुमरकान्त झा, रौतहटका शैलेन्द्र गुप्ता, सप्तरीका बैद्यनाथ झा, प्रकाश खतिवडा, देवरामप्रसाद यादव र पर्साका सत्रुधन नेपाल एवं गया यादव रहेका छन् ।
मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले गणतन्त्र दिवसको अवसरमा बिहीबार जनकपुरधाममा शुभकामना तथा अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा मन्त्रालयले गणतन्त्र स्थापनाका लागि कलमको माध्यमले महत्वपूर्ण योगदान दिएका मधेश प्रदेशका १२ जना प्रेस स्वतन्त्रता सेनानी उपाधि पाएका पत्रकारलाई अभिनन्दित गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले १२ जना पत्रकारलाई अभिनन्दनपत्र, दोेसल्ला र प्रतिव्यक्ति ११ हजार नगदसहित अभिनन्दन गरिएको बताउनुभयो ।
मुख्यमन्त्री सतिशकुमार सिंहले गणतन्त्र स्थापनापश्चात देशमा धेरै परिवर्तन आएको भन्दै आज जनताको छोरा देशको सर्वोच्च ठाउँमा पुगेको छ, त्यो गणतन्त्रकको ठुलो उपलब्धि भएको बताउनुभयो ।
उहाँले गणतन्त्र स्थापना पश्चात देशले २०७२ सालमा पाएको नयाँ संविधान विश्वकै उत्कृष्ट संविधान रहेको भन्दै यस संविधानमा भएका केही त्रुटिहरु सच्याएर सर्वोत्कृष्ट संविधान बनाउनु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले अहिले व्यवस्था बारेमा नकारात्मक टिप्पणी भइरहेको भन्दै गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु कुनै नभएको बताउनुभयो ।
उहाँले प्रतिक्रियावादी शक्तिहरुले यस व्यवस्थाविरुद्धमा नकारात्मक टिप्पणी गरेर जनतालाई भ्रममा पार्न खोजेको भन्दै जनप्रतिनिधिले आफनो कार्यशैलीबाट जनताको मन जित्नुपर्ने धारणा राख्नुभयो ।
मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादव, जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादव, नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष सोहन साहसहितले गणतन्त्रको विकल्प गणतन्त्र रहेको बताउनुभयो ।
कार्यक्रममा गणतन्त्र ल्याउन गरिएका संर्घष र स्थापना पछि भएका उपलब्धिहरुको बारेमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो र गणतन्त्र स्थापनामा पत्रकारले गरेको योगदान विषयमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रस्तुति गर्नुभएको थियो ।