यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) जेठ १५ गते । बुधबार बिहान बालिकालाई आक्रमण गरी मार्ने चितुवा खोज्नका लागि गुलरिया नगरपालिका वडा ५ बालापुरमा हात्ती परिचालन गरिएको छ ।
बुधबारदेखि नै चितुवाको बासस्थान पत्ता लगाउनका लागि पाँच ओटा क्यामेरा राखिएको छ । त्यसैगरी डार्ट गन सहित बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक सहितको प्राविधिक टोली खटिएको छ । चितुवालाई समात्नका लागि बाख्रा राखेर दुई वटा पासो समेत राखिएको छ । तर पनि चितुवालाई नियन्त्रणमा लिन नसकेपछि आज बिहानदेखि दुई वटा हात्ती परिचालन गरिएको छ ।
चितुवा नियन्त्रणमा लिनका लागि रातदिन प्रयास गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वारा कार्यालयका प्रमुख अजितराज तुम्बाहाम्फेले बताउनुभयो । प्राविधिक टोली राती १२ बजे सम्म मचान बनाएर बसेपनि चितुवा फेला नपरेको बताउँदै जंगलमा चितुवा खोज्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्ती समेत परिचालन गरिएको उहाँले बताउनुभयो ।
चितुवाको आक्रमणबाट ७ बर्षिया सायरा थारूको मृत्यु भएपछि चितुवा नियन्त्रण लिनुपर्ने माग गर्दै बालापुरबासीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । चितुवालाई नियन्त्रणमा लिने सहमति भएपश्चात् चितुवाको खोजी गर्न प्राविधिक सहितको टोलि खटिएको हो ।
पछिल्लो समय बर्दियाको सदरमुकाम गुलरियामा चितुवाको बिगबिगी बढ्दै गएको छ । गत बैशाख १५ गते गुलरिया नगरपालिका वडा ५ मा रहेको सर्यु सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो । वन कार्यालय बर्दियाको गत मंसिर यता चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।