गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १५ गते । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमको बजेटमा बृद्धि गरी १० अर्ब १९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बिहीबार बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो । शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तीय समान्यीकरण अनुदानमा रूपान्तरण गरिने उहाँले बताउनुभयो।
माध्यमिक शिक्षा परिषद्को सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । सोहीअनुसार शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने उहाँले बताउनुभयो ।
त्यस्तै, नक्साङ्कनका आधारमा विद्यालय गाभ्ने कार्यक्रम सुरु गरिने बताउँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “शिक्षकको कमी हुन नदिन शिक्षक बैँक स्थापना गरिने छ । शिक्षाको गुणस्तर वृद्धि गर्न भर्चुअल र डिजिटल शिक्षण सिकाइ प्रविधिलाई कार्यान्वयन गरिने छ ।” सोहीअनुसार विद्यार्थीका लागि कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।