काठमाडौँ, जेठ १५ गते । सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कामय गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भन्नुभयो, “प्रेस स्वतन्त्रताको प्रवर्धन गरी पारदर्शीता र जवाफदेहितामा अभिवृद्धि गरिने छ, नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनियताको हकको रक्षा गरिने छ ।”
सरकारले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विकसित नविनतम प्रविधिको खोज, अनुसन्धान र विकास तथा प्रवर्धनमा जोड दिने भएको छ । अर्थमन्त्री पौडेलले भन्नुभयो, “डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिने छ, डिजिटल साक्षारताका विशेष कार्यक्रम सञ्चालन गरिने छ, डिजिटल प्रविधिको निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड बजेट विनियोजन गरेको छु ।”
सरकारले डाटा सेन्टर निर्माण र सञ्चालन, पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग साझेदार गर्ने भएको छ । काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने सरकारको योजना छ ।
अर्थमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने बताउनुभयो । डाटा सेन्टर स्थापनाका लागि स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, विद्युत् र सुरक्षा उपलब्ध गराउने बजेटमा उल्लेख छ । सरकारले एकीकृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नति पनि भएको छ । रासस