गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १५ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप छ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
उहाँले आगामी आर्थिक वर्षमा ३४ अर्ब ८९ करोड वैदेशिक अनुदान उपलब्ध गर्ने प्रक्षेपण गर्नुभयो । संसद बैठकमा आ.व. २०८२–८३ को बजेट बिहीबार प्रस्तुत गर्नुहुँदै उहाँले सो प्रक्षेपण गर्नुभएको हो । उहाँका अनुसार जनतालाई गुणस्तरीय सार्वजनिक सेवा प्रदान गरी सुशासन कायम गरिने छ ।
सोहीअनुसार मासुमा आत्मनिर्भर बन्नेगरी कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै, आगामी आवमा थप ६ हजार हेक्टर क्षेत्रमा सिँचाइको व्यवस्था गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउनेगरी कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । छ लाख मेट्रिक टन रासायनिक मलको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । सोहीअनुसार युवालाई कृषिमा आकर्षित गराई उत्पादनलाई वृद्धि गर्ने योजना सरकारको रहेको बताउनुभयो ।
सोहीअनुसार पशुको स्वास्थ्यका लागि ५ करोड ५० लाख डोज खोपको व्यवस्था गरिने र त्यसको बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । भूमिसम्बन्धी कानुनलाई संशोधन गरी स्थायी रूपमा समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, आगामी आर्थिक वर्षमा ५ लाख भूमिहिनलाई जग्गा उपलब्ध गराइने लक्ष्य सरकारको रहेको उहाँले बताउनुभयो । सोहीअनुसार सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, निरपेक्ष गरिबी अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । औद्योगीकरणमा जोड दिई लघु, घरेलु र साना उद्योगको प्रवर्धन गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
सोहीअनुसार साना उद्यमीलाई सीप विकास, बजारीकरणका लागि सहुलियत ऋण प्रदान गर्ने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई विशेष आर्थिक क्षेत्र सरह सहुलियत दिइने पनि उहाँले बताउनुभयो ।