काठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्षमा पाँच लाख भूमिहिन परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो ।
जग्गाको लगत सङ्कलन र प्रमाणीकरणको प्रक्रिया सम्पन्न गरी प्रमाण पुर्जा वितरण मन्त्री पौडेलले बताउनुभयो । उहाँले जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आवश्यक आर्थिक स्रोत र साधनको अभाव हुन नदिइने स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार सरकारले अगामी आर्थिक वर्षमा कृषियोग्य जमिन बाँझो राख्न नपाइने नीति लिइने छ । उहाँले सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक तथा संरक्षण गरिने बताउनुभयो । कृषियोग्य भुमिको प्रभावकारी उपयोगका लागि भूमि बैँकसम्बन्धी कानुनी तथा संस्थागत संरचना निर्माण गरिने मन्त्री पौडेलले बताउनुभयो । आगामी आर्थिक वर्षमा स्थानीय तहमा भूमि बैँक स्थापना गर्ने सरकारले लक्ष्य राखेको छ ।