गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १५ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा नेपाली उद्योगलाई प्रवर्धन गर्नेगरी उद्योगमा लगानी गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।
संसद बैठकमा आ.व. २०८२–८३ को बजेट बिहीबार प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार नेपाली उद्योगको प्रवर्धन गरी काम खोज्नेभन्दा काम दिनेगरी उद्योग स्थापना र प्रवर्धन गरिने छ । उद्योगको प्रवर्धन गरी निरपेक्ष गरिबीको अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
साना उद्यमी सञ्चालकहरूको सीप विकास, उत्पादित सामानको बजारीकरणका लागि सहुलियत ऋणको व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई विशेष आर्थिक क्षेत्र सरह सहुलियत दिइने र त्यसका लागि १ अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।