काठमाडौँ, जेठ १५ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण रहेको बताउनुभयो । उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताउनुभयो ।
विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बिमा सेवालगायतमा उल्लेखनीय वृद्धिदर हुने अनुमान रहेको बताउनुभयो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत् उत्पादन भएको दाबी गर्नुभयो । संवत २०८२ वैशाखसम्म पर्यटक आवागमनको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भई नौ लाख २३ हजार पुगेको उल्लेख गर्नुभयो ।
उहाँले चालु आर्थिक वर्षको मुद्रास्फिति चालु आर्थिक वर्षको चैत महिनामा ३.४ प्रतिशितमा सिमित रहेको बताउनुभयो ।