• १७ जेठ २०८२, शनिबार

चीनको प्राकृतिक एवम् जैविक विविधतासम्बन्धी वृत्तचित्र प्रदर्शन

blog

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र चीनको युनिभर्सिटी अफ कम्युनिकेसन साइन्स एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा बिहीबार त्रिवि केन्द्रीय पुस्तकालयमा आयोजित कार्यक्रम।

काठमाडौँ, जेठ १५ गते। चीनको प्राकृतिक एवम् जैविक विविधता समेटिएको वृत्तचित्र ‘जहाँ शक्तिशाली नदी उत्पत्ति हुन्छन्’ प्रदर्शन भएको छ। 

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभाग र चीनको युनिभर्सिटी अफ कम्युनिकेसन साइन्स एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा बिहीबार त्रिवि केन्द्रीय पुस्तकालयमा सो वृत्तचित्र प्रदर्शन तथा यस विषयमा प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा चिनियाँ प्राध्यापक स्रम, यान ब्रिङ र यान झाङ्लिनले वृत्तचित्रको विषय वस्तुमाथि प्रकाश पार्नुभयो। यसका साथै उठेका जिज्ञासाको उत्तर उहाँहरूले राख्नुभयो। 

पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले उक्त कार्यक्रम सिजाङ प्यानारोमा अन्तर्गत आयोजना गरिएको भन्नुहुँदै यस किसिमको कार्यक्रमले चीनको कला पक्ष, प्राविधिक पक्षका बारेमा जानकारी गराएको बताउनुभयो।

प्रमुख अर्यालले भन्नुभयो, “खास गरेर पत्रकारिता र आम सञ्चारका विद्यार्थीलाई यसको प्राविधिक पक्ष, यसको कला पक्षका बारेमा जानकारी होस् भनेर ‘ह्वेर द माइटी रिभर्स बिगन्’ भन्ने एउटा सिनेमा हेर्‍याैँ। यस बारेमा निर्देशकहरू र यसका टिमसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्पन्न भयो। यस्ता खालका कार्यक्रमले मित्र राष्ट्र चीनमा भएको कला पक्ष, प्रविधि पक्षमा गरेको प्रगतिबाट हामी पनि सिक्न सक्छौं।” 

वृत्तचित्रमा चीनको प्राकृतिक एवम् जैविक विविधताका विषयमा जोड दिइएको उहाँको भनाइ छ। 

उहाँले आगामी दिनमा विभागले छेन्दुस्थित युनिभर्सिटी अफ इलोक्ट्रोनिक साइन्स टेक्नोलोजी एन्ड कम्युनिकेसनसँग  नेपाल र चीनबिचमा संस्कृति, कला, प्रविधि आदानप्रदान गर्ने खालका कार्यक्रम अझै बढ्दै जाने जानकारी दिनुभयो।