• १७ जेठ २०८२, शनिबार

सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा : मुख्यमन्त्री पाण्डे

blog

गणतन्त्र दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की, जेठ १५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ । 

गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्र स्थापनासँगै राजनीतिक लक्ष्य प्राप्त भएकाले अब सुशासन, विकास र समृद्धि आजको आवश्यकता भएको बताउनुभयो । सुशासन, विकास र समृद्धिलाई मार्गदर्शक सिद्धान्त मानेर आगामी कार्यदिशा तय गर्ने प्रतिवद्धता मुख्यमन्त्री पाण्डेको छ । 

“जनताको बलिदानीबाट प्राप्त गणतन्त्रका सुन्दर पक्षहरुमाथि प्रहार गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “गणतन्त्रको विकल्प यसकै सुधारिएको रुप हो, त्यसले यसलाई प्रहार गर्न खोज्ने विरुद्ध गणतन्त्रका हिमायतीहरु एकजुटु हुनुपर्दछ ।” गणतन्त्र ल्याउन नेपाली जनताकोे योगदान रहेको उल्लेख गर्दै अब यसमाथि भएका प्रहारको पनि सामूहिक रुपमा मुकाविला गर्नु सबैको कर्तव्य भएको उहाँको भनाइ छ । 

प्रदेश सरकारले प्रदेशबासी प्रतिको जिम्मेवारी र दायित्वलाई बोध गरी आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म नागरिकमैत्री सरकारको रुपमा उपस्थित भएको दाबी गर्नुभयो । गण्डकी प्रदेश सरकार स्थापना भएपछि हालसम्म ७८ वटा ऐन र २९ वटा नियमावली निर्माण भएको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले  ९ सय २३ किलोमिटर भन्दा बढी सडक कालोपत्रे, १ सय ९ सडक पुल निर्माण सम्पन्न भएको बताउनुभयो । 

“गणतन्त्र स्थापनापछि सरकारबाट नागरिकले विकास र समृद्धिको अपेक्षा राख्नु स्वभाविकै छ”, उहाँले भन्नुभयो, “सीमित स्रोत, साधनकाकाबिच असीमित आवश्यकता र नागरिकको तीव्र चाहनाको तालमेल मिलाउन सरकार प्रयासरत छ ।” नागरिकको आकांक्षा पूरा गरी सरकारप्रति जनविश्वास सुदृढ गर्नुपर्ने काममा सरकार सचेत रहेको उहाँको भनाइ छ ।  “जनता सामु गरिएका प्रतिबद्धता पूरा गर्ने कामलाई सरकारले आफ्नो जिम्मेवारीको रुपमा लिएको छ”,उहाँले भन्नुभयो,“ प्रदेशको समुन्नतीका लागि पहिचान गरिएका सात मुख्य सम्वाहकहरु पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव शंसाधन र सुशासनलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्दै आएको छ ।”

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपाली जनताको योगदानबाट स्थापना भएको गणतन्त्रप्रति सबै इमानदार हुनुपर्ने बताउनुभयो । सरकारले जनतालाई सुशासनको प्रत्याभूति गराउन सक्नुपर्ने उहाँको भनाइ छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीले गणतन्त्र र संविधान कसैले बक्सिस दिएको नभइ नेपाली जनताले लडेर ल्याएको बताउनुभयो । “जनताको शासन भनेकै गणतन्त्र हो,” उहाँले भन्नुभयो, "जनताको शासनमा कानुनमाथि कोही पनि हुन सक्दैन ।” जनताको रगतले गणतन्त्र लेखिएको बताउँदै उहाँले यसका विरुद्ध षड्यन्त्र गर्न खोजिएकाले हिमायतीहरु एकजुट हुनुपर्ने बताउनुभयो । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले गणतन्त्रको जग नै जनयुद्ध भएको दाबी गर्नुभयो । जनतालाई परिर्वतनको अनुभूति सरकारले गराउन सक्नुपर्ने उहाँको भनाइ छ । जनतामा असन्तुष्टि आएकोले सरकारले कार्यशैलीमा सुधार ल्याउनुपर्नैमा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले प्रदेशबासीको चाहना अनुसार काम गर्न सरकार प्रयासरत रहेको बताउनुभएको थियो ।