अर्जुन कार्की
काठेखोला (बागलुङ), जेठ १५ गते । ‘बोल्ने कोही छैन गाउँमा बोल्ने कोही छैन्, पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन’ यी पङ्ति गायक शिशिर योगीको ‘बोल्ने कोही छैन’ बोलको गीतको हो ।
अहिले उक्त गीतको शब्दजस्तै बनेको छ बागलुङको जैमिनी नगरपालिका वडा १ को ‘भण्डारा गाउँ’ । गाउँका अधिकांश घरको ढोकामा ठुल्ठुला ताल्चा लगाइएको छ । आधुनिक चुना, गेरु र रङ्गले रङ्गिएका घरहरू स्याहार सम्भारको अभावमा रङ्गहीन बन्दैगएको छ ।
वरिपरि सफा भइरहने घरहरूमा अहिले झार उम्रेको छ । घरको आँगन गौचरनको रूपमा परिणत हुँदै गएको छ । घर वरपर झाडी मौलाउँदै गएको छ । तीन–चार वर्षअघि तामझामले भरिपूर्ण भण्डारा गाउँ अहिले सुनसान छ ।
मानवरहित सिङ्गो बस्ती अनकन्टार बन्ने अवस्थामा पुगेको छ । केही वर्ष पहिले ७६ घरपरिवार रहेको भण्डारामा अहिले १२ घरपरिवारमा सीमित भएको जैमिनी नगरपालिका–१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
स्थानीय ८५ वर्षीय दुर्गादत्त पाध्यले गाउँबाट सबै सहर पसेपछि सुनसान बन्दैगएको बताउनुभयो । ‘बसाइसराइँले गाउँ रितिँदै गएको छ’ पाध्यले भन्नुभयो, ‘गाउँका सबै सहर पसेपछि अहिले सुनसान भएको छ ।’ पहिले गाउँमा केही काम पर्दा सबै गाउँले जम्मा भएर सहयोग गर्ने गरेकोमा अहिले कोही आउँदा बोल्ने समेत मान्छे नपाइने अवस्था आएको उहाँको भनाइ छ ।
बसाइसराइको कारण अहिले गाउँघरमा बस्नेहरूलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउनसमेत कठिन हुनेगरेको छ । युवाहरु वैदेशिक रोजगारीले विदेश गएपछि उहाँहरूको परिवार बालबच्चालाई सहरमा पढाउने उद्देश्यले सहर पस्दा अहिले बसाइसराइको क्रम बढ्दो रहेको स्थानीय पाध्यको बुझाइ छ ।
‘युवाहरू रोजगारीका लागि युरोप लगायतका देशमा जानेक्रम बढेको र राम्रो कमाइपछि सहरमै घर जग्गा किनेर बस्ने गरेका कारण गाउँ रित्तिदै गएको छ । गाउँमा केही बस्न मान्दैनन्’ पाध्यले भन्नुभयो, ‘कोही मधेश पसे, कोही ठुला सहरमा ।’
भण्डारा गाउँका बासिन्दाहरू अहिले काठमाडौं, चितवन, बुटवल, पोखरा, बागलुङ बजारलगायतका क्षेत्रमा बसाइँ सरेका छन् ।
स्थानीय कृष्णप्रसाद पौडेलले बर्सेनि हुने आगलागीका कारण भण्डाराको बस्ती उठेको बताउनुहुन्छ । ‘वरिपरि जङ्गल बढिरहेको छ । हिउँदमा बर्सेनि आगलागी हुन्छ’ पौडेलले भन्नुभयो, ‘बर्सेनि आगलागी हुँदा बस्ती जोखिममा पर्छ । आगलागीकै कारण बस्ती छाडेर सहरबजार बसाइ सर्ने क्रम बढेकाले बस्ती रित्तिँदै गयो ।’ पहिले स्थानीयहरू मिलेर घाँस, दाउरा फाँड्ने गरेपछि अहिले सङ्ख्या घट्दा वनजङ्गल फाँड्न नसक्दा आगलागीको जोखिम बढदो रहेको उहाँको भनाइ छ ।
बसाइ–सराइकै कारण विद्यार्थी नभएपछि भण्डाराको सिद्धिगणेश प्राथामिक विद्यालय विद्यालयलाई जैमिनी नगरपालिकाले बन्द गरेको छ । ‘हामीले दुःख गरेर पहरो काटेर २०४६ सालमा विद्यालय स्थापना गरेका थियौं’ स्थानीय पाध्यले भन्नुभयो, ‘अहिले पढ्ने बालबच्चा नहुँदा विद्यालय बन्द भयो । दुःख लागेको छ ।’
गाउँमा काम गरेर खाना गाह्रो हुने र सहरमा किनेर खाना सहज हुँदा बसाइसराइ भएको उहाँको बुझाइ छ । जैमिनी नगरपालिका वडा १ बाट पछिल्लो दुई वर्षमा ४२ घरका १५७ जनाले बसाइसराइ गरेको वडाध्यक्ष आचार्यले बताउनुभयो । उहाँले गाउँमा स्थानीयलाई राख्न कृषि क्षेत्रमा काम गरे पनि रोक्न नसकिएको बताउनुहुन्छ ।
‘हामीले बसाइसराइ कम गर्न कृषि कार्यक्रमसहित खानेपानी, सडक लगायतमा बजेट विनियोजित गरेर काम गरेका छौं’ उहाँले भन्नुभयो, ‘सडक निर्माणपछि झन बसाइसर्ने क्रम बढ्दो छ ।’ वडा १ ले ‘शेरा जाउँ, केरा खाउँ’ योजनाअनुरूप सबै टोल, बस्तीमा केराखेती गर्न अनुदान प्रदान, तरकारी उत्पादनका लागि बिउ वितरण गर्दै आएको छ ।
जैमिनीमा बसाइसराइ बढ्नुमा बाँदर आतङ्कका कारण रहेको स्थानीय बताउँछन् । ‘बाँदर आतङ्क नै फैलिएको छ’ स्थानीय खगराज पौडेलले भन्नुभयो, ‘बाँदरले उब्जनी नहुँदै अन्नबालीमा क्षति गर्छ । खर्च गरेर लगाएको खेतीबाली भित्र्याउन नपाउँदा के खाने ?’
बसाइसराइका कारण अहिले गाउँका खेतीयोग्य जग्गाहरू जङ्गलको रूपमा परिणत हुँदै गएको पौडेलको भनाइ छ । ‘गाउँ छाडेर सहर भाडामा बसेका छन् भने किनेर खाद्यान्न खाएका छन् । यता, गाउँमा अन्न उत्पादन हुने खेतबारी बाँझै हुँदा जङ्गलमा परिणत हुँदैछन्’ उहाँले भन्नुभयो ।