रामकृष्ण बोहरा
बागलुङ, जेठ १५ गते । झण्डै ४५ वर्ष अघिदेखि खाइपाइ आएको पानीमा अर्को वडाले अवरोध गरेपछि स्थानीयबिच विवाद सुरु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका १ र २ नं. वडावासीले वर्षौंदेखि उपभोग गर्दै आइरहेको खानेपानीको आपूर्ति अवरोध गरेर ४ नं. वडावासीले प्रयोग गर्न थालेपछि विवाद र्सिजना भएको हो ।
पानीका मुहान सुक्दै गएर वडा नंं १ र २ मा थप व्यवस्थापन गर्नुपर्ने बेलामा त्यही पानी वडा नंं ४ ले पनि लगेपछि पानीको हाहाकार भएको हो । राति ३ बजेदेखि उठेर पानी थाप्नेले चाहेजती नपाएको गुनासो गरिरहेका छन् ।
खानेपानी आपुर्ति कम भएको र उपभोग गर्न नपाएको विषयमा वडावासीबिच सहमति जुट्न नसक्दा त्यो विवाद अहिले गाउँपालिकाको न्यायिक समितिमा पुगेको छ । २०३८ सालमा सालमा गाउँलेहरूले महिनौसम्म श्रमदान गरी तारेभीर खानेपानी आयोजना सञ्चालन गरेर वडा नं. १ र २ का बासिन्दा खानेपानी उपभोग गर्दै आएका थिए ।
४५ वर्ष पुरानो खानेपानी आयोजनामा वडा नं. ४ जलजलाका बासिन्दाले अवरोध सिर्जना गरेको बडिगाड २ का ८० वर्षीय प्रेमलाल पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । पोखरेल प्रधानपञ्च भएकोबेला २०३८ सालमा उहाँकै अगुवाइमा झण्डै १५ किलोमिटर पाइपलाइन बिछ्याएर तारेभीर खानेपानी आयोजनामार्फत वडा नं. १ र २ मा पानी आपूर्ति गरिएको थियो ।
उक्त आयोजनाबाट तत्कालिन दगातुम्डाँडा गाविसका २ सयबढी घरले खानेपानी उपभोग गर्दै आएका थिए । पछिल्लो समय पानीका मुल सुक्दै गएपछि वडा नं. ४ का बासिन्दाले उक्त पानीको स्राेतमा दाबी गर्दै अवरोध गरेका हुन् । बडिगाड गाउँपालिका नं. १ र २ मा ल्याएको पानीको स्राेत वडा नं. ४ का बासिन्दाले अवरुद्ध गरेर पानी खान थालेपछि पुरानो मुहानमा अवरोध आएको पोखरेलले गुनासो गर्नुभयो ।
जलजलामा अर्को योजना सञ्चालन गर्ने सकिने मुल रहेकोले पनि वर्षौंदेखि खाइपाइ आएको मुहानमा अवरोध नगर्न उहाँको सुझाव छ । दिगो योजना बनाएर आफ्ना नागरिकलाई खानेपानीको पर्याप्त व्यवस्था गर्न गाउँपालिकासँग पोखरेलको आग्रह छ । जलजलाको तारेभीरबाट वडा नं. १ को तुम्डाँडामा पानी ल्याइएको हो । उक्त पानी सुक्दै जान थालेपछि राति देखिनै धारोमा पुगेर लाइन बस्नुपर्ने स्थानीय अनिल गिरीले बाध्यता सुनाउनुभयो ।
वडाध्यक्ष बोमबहादुर थापाले वडाको बजेटले काम गर्न नसक्ने भएपछि पालिका गुहारेको तर्क गर्नुहुन्छ । वडा नं. ४ का बासिन्दाले आफ्नो क्षेत्रको स्राेत भएकोले पहिलो प्राथमिकता आफ्नो भएको दाबी गर्छन् । दगातुम्डाँडावासीले भने ४५ वर्षदेखि खाएको पानी कटौती गर्न नहुने बताउँछन् । जलजलामा अर्को श्रोत खोजी गरिदिन स्थानीयको माग छ ।
पानीको विवाद न्यायिक समितिसम्म पुगेपछि गाउँपालिकाका उपाध्यक्ष भीमसेन वन कसैलाई हराउने र जिताउने भन्दा पनि पानी सबैले पाउने गरी मेलमिलाप गराउने प्रयासमा रहेको प्रतिक्रिया दिनुभयो। ‘‘आवश्यक स्राेतको खोजी गरेर सबैले पानी खाने वातावरणको खोजीमा छौं,’ उपाध्यक्ष वनले भन्नुभयो, ‘विज्ञको सल्लाह, पानीका स्राेतको खोजी र मेलमिलाप नै उत्तम विकल्प हो । बर्सातको पानी सङ्कलन पद्दतीदेखि लिफ्ट प्रविधिको खोजी गरेर ‘एक घर एक धारा’ अभियानलाई पूर्णता दिने गरी काम गरिहेछौं ।’’
धेरै पुरानो योजना भएकोले तारोभीर खानेपानी योजनाका दर्जनबढी धाराहरू जीर्ण भइसकेका छन् भने कतिपय स्थानमा त पानी आउनै छाडिसकेको छ । यो क्षेत्र मकै जोनमा सूचीकृत भए पनि सिँचाइ अभावमा नगदेबाली लगाउन नसकेको स्थानीय गुनासो गर्छन् ।