माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की, जेठ १५ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनताले चुनेको उन्नत व्यवस्था गणतन्त्र भएको बताउनुभएको छ । १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको हो ।
यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण पनि भएको उहाँको भनाइ छ । “हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौं” उहाँले भन्नुभयो, “संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामाजिक न्याय, समावेसिता, सुशासन, विकास र समृद्धिको दिशामा अगाडि बढ्ने प्रण गर्दै प्रदेशस्तरमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, महिला सशक्तीकरण लगायतको क्षेत्रमा महत्वपूर्ण काम भइरहेको छ । यी कार्यहरूलाई अझ प्रभावकारी बनाउनु हाम्रो साझा जिम्मेवारी हो ।”
गणतन्त्रले हामी सबैलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको उहाँले शुभकामना सन्देशमा बताउनुभएको छ । “जनतामा आधारित शासन प्रणालीमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुनुका साथै देश र प्रदेशको समुन्नतिका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ” शुभकामना सन्देशमा भनिएको छ ।
लोकतान्त्रिक मूल्य, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय, सामाजिक समावेशिता र समानताको आदर्शलाई जीवन्त राख्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । भट्टले कुनै पनि विभेद, हिंसा वा असहिष्णुता गणतान्त्रिक मूल्य मान्यताविरुद्ध हुने भएकाले हामीले सहिष्णुता, सहकार्य र संवादलाई सुदृढ गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ ।
“संघीयता शासन प्रणालीको रूपान्तरण मात्र नभएर जनताको अधिकारलाई अझ नजिक पु¥याउने, उनीहरूको समस्या स्थानीयस्तरमै समाधान गर्ने माध्यम हो”, शुभकामना सन्देशमा भनिएको छ, “संघ, प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकारको प्रयोग समन्वयात्मक, पारदर्शी र उत्तरदायी ढंगले गरे मात्रै संघीयताको सफल कार्यान्वयन हुनेछ ।”
यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभएको छ ।