राममणि दाहाल
मकवानपुर, जेठ १४ गते । बागमती प्रदेश सभाअन्तर्गतका दुई वटा समितिको प्रदेश सभा सचिवालय हेटौँडामा बसेको बैठकबाट उपसमितिहरू गठन गरिएको छ ।
प्रदेशसभाको अर्थ तथा विकास समिति र विशेष अधिकार समितिको बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न उपसमितिहरू बनाउने निर्णय गरेको हो ।
अर्थ तथा विकास समितिको प्रतिवेदन तयार गर्न प्रदेशसभा सदस्य सुना परियारको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिमा प्रदेशसभा सदस्यहरू अमृता नेपाल, लक्ष्मी श्रेष्ठ, ओमकुमारी श्रेष्ठ र माइली तामाङ रहनुभएको उपसमिति संयोजक परियारले जानकारी दिनुभयो ।
यस्तै, विशेष अधिकार समिति प्रतिवेदन तयार गर्न प्रदेशसभा सदस्य प्रभात तामाङ संयोजकत्वमा प्रदेश सभा सदस्यद्वय जयराम थापा र देवेन्द्र श्रेष्ठ रहनुभएको उपसमिति गर्ने निर्णय गरेको जनाइएको छ ।
दुवै उपसमितिले आ–आफ्ना समितिले चालु आर्थिक वर्ष २०८१/०८२ को अवधिमा गरेका गतिविधिहरू, अनुगमन र आवश्यक सुझावसहितको प्रतिवेदन समितिसमक्ष पेस गर्ने छ र समितिले छलफलपछि प्रदेश सभाको बैठकमा पेस गर्ने छ ।